नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

भोलि देशका केही ठाउँमा असिनासहित वर्षा र हिमपातको सम्भावना

भोलि देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम किसिमको वर्षा र हिमपात हुन सक्छ ।

केही ठाउँमा असिना समेत पर्ने सम्भावना छ । तराईका धेरैजसो ठाउँमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यसैबीच, वर्षाले धान बालीमा असर पुर्‍याउन सक्ने भन्दै कृषि संघले किसानहरूलाई सतर्क रहन आग्रह गरेको छ । पहाडी क्षेत्रमा धेरैजसो धान काटिसकिएको भए पनि तराईका केही ठाउँमा अझै धान काट्न बाँकी रहेकाले किसानलाई विशेष ध्यान दिन सुझाव दिएको संघले जनाएको छ । पर्सिदेखि भने मौसम स्थिर रहने विभागले जनाएको छ । 

यसैबीच बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्र पर्सी सोमबार बेलुकासम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने मौसम विज्ञहरूले बताएका छन् । भारतको मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दक्षिणपूर्वी बङ्गालको खाडीमा बनेको यो प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो प्रणाली क्रमशः विकसित हुँदै भोली डिप्रेसन र पर्सी बेलुकासम्म आँधीमा बदलिने सम्भावना रहेको छ ।

यसको प्रभावले अण्डमान सागर र बङ्गालको खाडीका विभिन्न क्षेत्रमा प्रतिघण्टा ५० देखि ६५ किलोमिटरसम्मको वेगमा हावा चल्ने अनुमान छ । सम्भावित चक्रवातको जोखिमलाई ख्याल गरेर भारतको ओडिसा सरकारले तटीय तथा दक्षिणी क्षेत्रका जिल्ला अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । त्यस्तै, भारतीय मौसम विभागले आउँदो मङ्सिर २ र ३ गते ओडिसाका केन्द्रपाडा, जगतसिंहपुर लगायतका जिल्लाहरूमा अत्यधिक वर्षा तथा चट्याङसहित तीव्र हावाहुरी चल्न सक्ने जनाएको छ ।

यो चक्रवात कति शक्तिशाली बन्छ भन्ने कुराले नेपालको मौसममा पार्ने प्रभाव तय गर्नेछ । नेपालको मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर बङ्गालको खाडीका विकसित भइरहेको नयाँ प्रणालीले नेपालमा खासै असर नगर्ने देखिएको जनाएको छ । यसअघि आएका यस्तै किसिमका चक्रवातहरूको प्रभाव नेपालमा पनि देखिने गरेको थियो ।    

प्रकाशित मिति:
थप समाज