नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

कास्कीको घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो

काठमाण्डौ – कास्कीका चर्चित पर्यटकीय गाउँहरू घान्द्रुक, सिक्लेस र ल्वाङ आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् ।

तिहार र छठको बिदासँगै पाहुनाको अत्यधिक चाप बढेपछि यी गाउँका होटल तथा होमस्टेमा बास पाउनै मुस्किल पर्न थालेको छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अहिले दैनिक तीन हजार पाँच सयसम्म पर्यटक पुगिरहेका छन् । रिसोर्टसहित ८० होटल र ३५ होमस्टे सञ्चालनमा रहे पनि कोठा पाउन कठिन भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले अग्रिम बुकिङ गरेर मात्र आउन आग्रह गरेको छ । अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदमार्गको मुख्य प्रवेशद्वार भएकाले पनि घान्द्रुकमा पदयात्रीको घुइँचो लागेको हो ।

त्यस्तै, मादी गाउँपालिकाको सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ । भाइटीकाको भोलिपल्टै एक हजार तीन सयभन्दा बढी पर्यटक सिक्लेस भित्रिएपछि होटलहरू भरिभराउ भएका छन् ।

हिमाली दृश्य, ढुङ्गे छानो र गुरुङ संस्कृतिसँगै पछिल्लो समय सिक्लेस–कपुचे–कोरी पदमार्गका कारण यहाँ आउने पर्यटक बढेका हुन् । पोखरा नजिकैको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा पनि पाहुनाको लर्को छ ।

२६ घरमा सञ्चालित होमस्टे र होटलहरू भरिएपछि व्यवस्थापनमा हम्मेहम्मे परेको स्थानीय व्यवसायी बताउँछन् । चियाबारी, सूर्योदयको दृश्य र रैथाने जीवनशैली अनुभव गर्न पर्यटक ल्वाङ पुग्ने गरेका छन् ।

पोखराबाट सहज सडक पहुँच भएकाले यी तीनवटै गाउँ पर्यटकको पहिलो रोजाइमा परेका छन् ।  
 

प्रकाशित मिति:
थप समाज