नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

अफगानिस्तानका कप्तान रहमत शाहले टेस्ट वरीयतामा इतिहास रचे

काठमाण्डाै – अफगानिस्तानका कप्तान रहमत शाहले आईसीसी टेस्ट वरीयतामा इतिहास रचेका छन् । ३३ वर्षीय रहमत टेस्ट वरीयताको कुनै पनि विधामा शीर्ष १० मा स्थान बनाउने अफगानिस्तानका पहिलो खेलाडी बनेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा टेस्ट ब्याटिङतर्फ रहमत शाह ६ स्थान माथि उक्लिँदै सातौँ स्थानमा पुगेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा जिम्बावेसँगको दुई खेलको टेस्ट शृङ्खलाअन्तर्गत पहिलो खेलमा १७३ रन बनाएपछि उनले वरीयतामा सुधार गरेका हुन् ।

यो रहमतको करियरको पाँचौँ र यस वर्षको दोस्रो टेस्ट शतक हो । योसँगै उनी भारतका कप्तान शुभमन गिल, दक्षिण अफ्रिकाका ओपनर एडेन मारक्रम र श्रीलङ्काका ब्याटर कामिन्दु मेन्डिस जस्ता खेलाडीहरूलाई पछि पार्दै पहिलो पटक शीर्ष १० भित्र स्थान बनाउन सफल भएका हुन् ।

उत्कृष्ट लयमा रहेका दायाँहाते ब्याटर रहमतले आफ्नो करियरकै उच्च रेटिङ पनि हासिल गरेका छन् । अहिले उनको रेटिङ ७३५ छ ।

टेस्ट ब्याटिङ वरीयतामा इङ्ग्ल्यान्डका ह्यारी ब्रुक शीर्ष, इङ्ग्ल्यान्डकै जोए रुट दोस्रो र अस्ट्रेलियाका ट्राभिस हेड तेस्रो स्थानमा यथावत् छन् ।

प्रकाशित मिति:
थप खेलकुद