दशैँ गयो, तिहार गयो, छठ पनि सकियो । ठूलो एकादशीको मेला पनि भर्खरै सकिएको छ । गाउँघरमा चाडपर्वको रौनक बिस्तारै सेलाउँदै छ । तर देशमा फेरि अर्को पर्वजत्तिकै उल्लास भित्रिएको छ– प्रधानमन्त्रीको भारत भ्रमण !
शहरका चिया पसलमा जस्तै गाउँको पँधेरोमा पनि भारत भ्रमणकै चर्चा भैरहेको छ । पानी भर्न गएका काकी, आमा र दिदीबहिनीहरूको कुराकानी सुन्दा लाग्छ, देशमा अर्को दशैँ आएको छ ।
‘ए नानी, अब त पँधेरो पनि सुक्न लाग्यो । गाउँभरि पानी थाप्ने यही एउटा बाँकी छ । अरू सबै सुके । अब यो पनि सुक्यो भने के गर्ने होला ?’
‘खै नि दिदी, यसपालि त पानीको पनि दुःख, घाँसको पनि दुःख, मलको पनि दुःख । दुःखैदुःख छ ।’
‘अँ, तर सुन्यौ ? हाम्रा प्रधानमन्त्री त भारत जाँदैछन् रे नि त !’
‘हो र ? के के लिएर आउलान् त उताबाट ?’
‘खै, के ल्याउँछन् ! पहिलेका प्रधानमन्त्री भारत जाँदा पनि यस्तै चर्चा हुन्थ्यो । यसपालि पनि केही ल्याउँछन् कि !’
‘हामी बाउआमा बजार जाँदा केटाकेटीले फर्किँदा के ल्याइदेलान् भनेर बाटो हेरेजस्तै हो । प्रधानमन्त्री भारत जाँदा पनि देशले त्यसैगरी बाटो हेर्छ ।’
‘हो नि ! तर बिस्कुट ल्याइदेलान् भनेर आशा गर्दा सानो गेडा पिपलमेठ मात्रै ल्याइदिएजस्तो हुन्छ । आशा ठूलो, उपलब्धि सानो !’
पँधेरोमा गलल हाँसो छुट्छ ।

वास्तवमा प्रधानमन्त्रीको भारत भ्रमण नेपाली राजनीतिमा एउटा छुट्टै जात्रा हो । प्रधानमन्त्री भारत जाने खबर आउनासाथ सरकारी कार्यालयदेखि गाउँघरका चोकचोकसम्म चासो बढ्छ । सञ्चारमाध्यममा भ्रमणको चर्चा, विश्लेषकका टिप्पणी, नेताहरूका सुझाव र नागरिकका अपेक्षाको बाढी आउँछ । भारतसँग के कुरा हुन्छ ? कुन सम्झौता हुन्छ ? सीमा समस्या समाधान हुन्छ कि ? ईपीजी प्रतिवेदन बुझिन्छ कि ? पुराना सन्धि पुनरावलोकन हुन्छ कि ? हवाई प्रवेश मार्ग पाइन्छ कि ?
प्रश्नको ताँती लाग्छ । भ्रमणअघि आशाको भारी यति ठूलो हुन्छ कि प्रधानमन्त्रीले त्यो भारी बोकेर भारत पुग्नै मुस्किल होलाजस्तो लाग्छ । तर फर्किँदा पनि त्यही भारी बोकेर आउँछन् । फरक यति हो, भारीमा आशाभन्दा भ्रमणका तस्वीर र उपलब्धिका व्याख्या बढी हुन्छन् ।
पँधेरोमा पानी भर्न गएकी काकी फेरि बोल्छिन्, ‘पहिलेका प्रधानमन्त्री भारत गएर फर्किँदा सम्बन्ध नयाँ उचाइमा पुगेको भन्थे । तर हाम्रो गाउँको बाटो अझै उही छ । सीमा उस्तै छ । किसानको मलको समस्या उस्तै छ । बाढी आउँदा डुबान उस्तै छ ।’
‘त्यही त ! बिजुली बेच्ने कुरा त राम्रै हो । पाइपलाइन आयो, रेल आयो, भन्सारका ठूला भवन बने । तर सीमा र सन्धिका कुरा चाहिँ वर्षाैँदेखि अड्किएका अड्कियै । किन होला नि यस्तो ?’
‘किनभने, भारत जाने प्रधानमन्त्री फेरिन्छन्, एजेन्डा फेरिन्छन् । हाम्रा दुःख चाहिँ फेरिँदैनन् ।’
यसपालिको भ्रमणमा त अर्को रमाइलो प्रसंग पनि थपिएको छ । प्रधानमन्त्रीले भारत जानुअघि पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेनन् रे ! राजनीतिक दलहरूसँग पनि छलफल भएनछ । राष्ट्रपतिलाई समेत जानकारी गराउने औपचारिकता पूरा भएन भन्ने समाचार आएछन् ।
‘किन नगरेका होलान् नि ?’ पानी भर्ने पालो पर्खँदै गरेकी एउटी आमाले जिज्ञासा राखिन् ।
‘आफ्नै पार्टी सभापतिसँग त भेटघाट गर्न खासै रुचि देखाउँदैनन् रे । अरू दलका नेतालाई किन भेट्नुपर्याे होला र ! झन् चुनावमा हारेकाहरूलाई केको भाउ दिनु !’
‘राष्ट्रपतिलाई चाहिँ किन नभनेको त ?’
‘राष्ट्रपति पनि तिनै पुराना दलका पुराना नेता न हुन् । संविधानमा लेखिएको पद भएर यसो कहिलेकाहीँ मानिदिनुपर्ने मात्रै । प्रधानमन्त्रीलाई भारत जान लागेको खबर सुनाउनैपर्ने के बाध्यता छ र ? हाम्रै घरका छोरा मान्छेहरू त बजार जाँदा हजुरबालाई गएँ है भन्दैनन् !’
पँधेरोमा फेरि हाँसो गुञ्जिन्छ । तर त्यो हाँसोभित्र एउटा गम्भीर प्रश्न लुकेको छ । प्रधानमन्त्री विदेश जाँदा उनी केवल आफ्नो दलको नेता भएर जान्छन् कि सिङ्गो देशको प्रतिनिधि भएर ? परराष्ट्र सम्बन्ध केवल सरकारको निजी सम्पत्ति हो कि राज्यको साझा जिम्मेवारी ? देशका पुराना कूटनीतिक अनुभव, राष्ट्रिय सहमति र संस्थागत परम्परा किन आवश्यक पर्छन् ?
नयाँ प्रधानमन्त्रीले पुरानो शैली बदल्न खोज्नु स्वाभाविक हो । तर नयाँ शैलीको नाममा राज्य सञ्चालनका संस्थागत अभ्यास नै छाड्न मिल्छ र ? पुराना दलका नेतासँग असहमति हुन सक्छ, चुनावमा हारेका नेताको जनमत कमजोर हुन सक्छ । तर राष्ट्रिय मुद्दा चुनाव जित्ने र हार्नेको निजी सम्पत्ति होइन ।
सीमा विवाद प्रधानमन्त्रीको पार्टीले जितेर ल्याउने विषय होइन । ईपीजी प्रतिवेदन कुनै दलको चुनावी घोषणापत्र होइन । नेपाल–भारत सम्बन्ध कुनै व्यक्तिको निजी सम्बन्ध पनि होइन । यो त पुस्तौँपुस्ताको राष्ट्रिय सरोकार हो ।
पँधेरोमा पानी भर्ने आमा, दिदीहरूलाई यी ठूला कूटनीतिक शब्दको अर्थ कति थाहा होला र ! उनीहरूलाई त यत्ति थाहा छ – पानीको मुहान नसुकोस्, खेतमा सिँचाइ होस्, छोराछोरीले रोजगारी पाऊन्, गाउँको बाटो बनोस्, भारत जाँदा रित्तै आश्वासन बोकेर नफर्किऊन् ।
‘लौ नानी, पानी त भरियो । अब जाऔँ । प्रधानमन्त्री भारत गएपछि के के ल्याउँछन्, रेडियोमा सुनौँला ।’
‘हो नि काकी, यसपालि पिपलमेठ होइन, कम्तीमा पनि एउटा बिस्कुटको प्याकेट ल्याइदिऊन् !’