नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

मङ्सिरका लागि बैंकहरूको ब्याजदर सार्वजनिक, ६ वटाले घटाए

काठमाण्डाै – वाणिज्य बैंकहरूले भोलि मङ्सिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसोले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन् ।

२० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ वटाले ब्याजदर हेरफेर गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबी बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।

मङ्सिरका लागि पनि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेस्ट  बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबी बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा औसत ३.९८ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ । यसले बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत विन्दुको कमी आएको देखाएको छ ।

मङ्सिरका लागि सबैभन्दा धेरै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ । त्यस्तै नेपाल बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंकले ४ प्रतिशतभन्दा माथिको ब्याजदर दिएका छन् ।

बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

– न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप अर्थ