नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने

काठमाण्डौ - छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ । 

यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी उत्पादनले नै बजारको माग धानिरहेको व्यवसायीले बताएका छन् । तर, मूल्य महँगो भएको भन्दै उपभोक्ताले भने गुनासो गरेका छन् । छठमा केरालाई मुख्य प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । 

जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस पटक कैलालीको टीकापुर, नवलपरासी, चितवन, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको छ । बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि १२ सय र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । 

स्वदेशी उत्पादन बढेकाले केराको अभाव नहुने अध्यक्ष यादवको दाबी छ । व्यवसायीले सहज उपलब्धताको दाबी गरे पनि उपभोक्ता भने मूल्यप्रति सन्तुष्ट छैनन् । बितेका वर्षमा भारतबाट केरा आउँदा मूल्यमा प्रतिस्पर्धा भई सस्तो पर्ने गरेकोमा यस पटक महँगो भएको उपभोक्ताको गुनासो छ । 

पहिले ६/७ सय रुपैयाँ घरीमा पाइने केरा अहिले व्यापारीले १५ सय रुपैयाँसम्म भन्ने गरेको भन्दै उनीहरूले मूल्य नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केरा अनिवार्य मानिने भएकाले केराको किनबेच बढेको छ । 

आज खरना विधि मनाइँदै गरेको पर्वको मुख्य दिन भोलि अस्ताउँदो सूर्यलाई र पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । 

प्रकाशित मिति:
थप अर्थ