नेभिगेशन

‘राहदानी वितरण अब सहज बन्दैछ, अहिले देखिएका समस्या हल हुँदै जानेछन्’

राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै सास्ती भोगिरहेका छन् । विभागमा दैनिकजसो सेवाग्राहीको लामो लाइन देखिने गरेको छ र सेवाप्रवाह निकै चुनौतीपूर्ण हुँदै गएको गुनासा बढिरहेकाे छ । सरकारले भने नयाँ विद्युतीय पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झन्डै १ करोड नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यसलाई महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरेको छ । तर प्रणाली पटक–पटक डाउन हुने, अनलाइन भुक्तानी नचल्ने, अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ हुनेलगायतका समस्या देखिएका छन् । फ्रान्सेली कम्पनी आइडिमियाबाट जर्मन कम्पनी म्युहलबउर र भेरिडोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि काठमाण्डौसहित पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दीमा समेत लग–इन र पासवर्डसम्बन्धी समस्या देखिएका छन् । विभागले भने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्र उपस्थित हुन आग्रह गरेको छ । अहिले सेवाप्रवाह कसरी भइरहेको छ भन्नेबारे राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेसँग महेश ज्ञवालीले कुराकानी गर्नुभएको छ ।

राहदानी विभागमा अहिले सेवा कसरी प्रवाह भइरहेको छ ?

अहिले विभागले दुई शिफ्टमा काम गरिरहेको छ । यसको कारणले धेरै फाराम र एप्लिकेशन आएकाले त्यसलाई व्यवस्थापन गर्न बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिइरहेका छौँ । यो व्यवस्था साउन २२ गते शुक्रवारसम्मका लागि हाे ।

पछिल्लो समय राहदानी विभागमा अत्यधिक भीड हुने गरेको सुनिन्छ, यसको कारण के हो ?

नयाँ प्रणालीमा जाँदा डेटा माइग्रेसन र त्यसमा देखिएका त्रुटि सच्याउनुपर्ने भएकाले केही दिन फाराम कम मात्रामा लिइएको थियो । त्यही कारणले शुरूमा भीड बढेको हो । अहिले भने भीड निकै घटेको छ ।

दुई शिफ्टमा सेवा शुरू गरेपछि दैनिक चाप घटेको हो भनेर बुझ्नुपर्‍याे ?

दुई शिफ्टमा काम गर्दा ईपीएसको कारण बढेको भीड केही हदसम्म व्यवस्थापन गर्न सकिएको हो । यसले सेवाग्राही र हामी दुवैलाई सहज बनायो र त्यसैले भीड कम हुँदै गएको हो । अहिले आजको मितिमा भीड एकदमै कम छ, ईपीएसको दबाव घट्दै गएकैले पनि भीड घटेकाे हो ।

अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहेका छन् ? पहिलेको तुलनामा यो सङ्ख्या कस्तो हो ?

सामान्यतः पहिले दैनिक १ हजारदेखि १२ सयसम्म मान्छेले फाराम भर्ने गर्थे । तर ईपीएसका कारण यो सङ्ख्या २२ सयदेखि २५ सयसम्म पुग्यो । एकदिन त ३ हजार जति नै भयो, याे सङ्ख्या सामान्यभन्दा झन्डै अढाई गुणा धेरै हो । हिजोआज १६–१७ सय जनाले फाराम भर्ने गरेका छन् ।

नयाँ प्रणाली शुरू गर्नुअघि पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने गुनासो छ नि ?

कतिपय कुरा गर्दै जाँदा नै त्रुटिहरू देखिन्छन् र तिनलाई समाधान गर्दै लगिन्छ । हाम्रो हकमा शुरूमै एकैचोटि ठूलो सङ्ख्यामा, झन्डै १ हजार जनाका लागि फाराम खोलिएको थियो, तर केही प्राविधिक कारणले एकैदिन ५ हजार जनासम्मले फाराम भरे र ती सबैलाई सेवा दिनुपर्ने अवस्था बन्यो । यदि फाराम थोरै मात्रामा खोल्दै, समस्या देखिँदै समाधान गर्दै लगिएको भए १५–२० दिनमा यो सजिलो हुनसक्थ्यो, तर फाराम खासै धेरै कम गरिएन, जसका कारण शुरूका दुई हप्तासम्म हरेक झ्यालमा भीड देखियो ।

यस्ता प्रणालीमा पहिल्यै पूर्ण तयारी हुन गाह्रो हुन्छ, समयक्रममा देखिने त्रुटि सच्याउँदै जानुपर्छ भन्ने प्राविधिक टिमको भनाइ छ ।

अत्यावश्यकबाहेकका सेवाग्राहीलाई सम्बन्धित जिल्लामै राहदानी बनाउन विभागले अनुरोध गर्दै आएको छ, तर पासवर्ड नचल्ने, लग–इन नहुने र प्रणाली बारम्बार डाउन हुने समस्या कहिलेसम्म समाधान हुन्छ ?

यी समस्या विभिन्न कारणले आएका हुन्, जसमा एउटा प्रमुख कारण राष्ट्रिय परिचयपत्रसँग हाम्रो सर्भर जोडिन नसक्नु पनि हो । खासगरी असारको अन्तिमतिर जसले पनि फाराम भरे, उनीहरूको राष्ट्रिय परिचयपत्र नम्बर त्यहाँको प्रणालीमा अपडेट नभएकाले यो समस्या देखिएको हो । त्योभन्दा अगाडि फाराम भरेकाहरूमा भने खासै यस्तो समस्या छैन । अहिले दैनिक १५–१६ सय जनाले मात्र फाराम भर्ने भएकाले यस्तो समस्या अब देखिने छैन ।

सेवाग्राहीलाई सहज सेवा दिनका लागि विभागको तर्फबाट अहिले के–कस्ता पहल भइरहेका छन् ?

पहिलो कुरा, धेरै भीड र गुनासो निम्त्याएका त्रुटिहरू निकै घटिसकेका छन् र हाम्रो प्राविधिक टिमले निरन्तर सुधारको काम गरिरहेको छ । दोस्रो, दुई शिफ्टमा काम गर्दा हामी आफैँ बिहान ७ बजेदेखि राति १०–११–१२ बजेसम्म खटिएका छौँ र हाम्रो प्राविधिक टिमले पनि उत्तिकै समय दिएर उत्कृष्ट प्रयास गरेको छ । तेस्रो, अब बिस्तारै ठूलो परिमाणमा फाराम खोल्ने क्रम पनि शुरू भइसकेको छ । आउँदो हप्ताका लागि फाराम पहिल्यै खोलिसकिएको हुनाले सेवाग्राहीलाई फाराम अझ सहजरूपमा उपलब्ध हुनेछ । यसरी सेवाग्राहीकले क्रमशः सहजरूपमा सेवा पाउनेछन् र समस्या पहिलेको तुलनामा घट्दै जानेछन् ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता