नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

`एक-दुई दिन घाम लागेपछि मात्रै धान काट्न उपयुक्त हुन्छ´

आज दिउँसोदेखि मौसममा सुधार आउन थाले पनि मौसमविद्हरूले अझै केही दिन देशका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको जनाएका छन् । यस्तो बेला पाकिसकेको धानबाली भित्र्याउनेबारे किसानहरू चिन्तित छन् । त्यस्तै पर्वतारोहणका लागि हिमाली यात्रामा रहेका पर्यटकदेखि विभिन्न कामका लागि लामो यात्राको तयारीमा रहेका मानिसहरूमा पनि मौसमको आगामी अवस्था कस्तो रहला भन्ने चिन्ता छ । यसै सन्दर्भमा नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीसँग अब मौसम खुल्न कति समय लाग्छ ? र मौसमको आगामी अवस्थाबारेको पूर्वानुमान के छ ? भनेर साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।

मौसम पूर्ण रूपमा कहिलेदेखि खुल्छ ?

देशका धेरैजसो भूभागमा बिस्तारै वर्षा र हिमपात हुने क्रम रोकिएको छ । पश्चिमका केही ठाउँमा घाम लाग्न थालिसकेको छ । विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा मौसममा सुधार देखिएको छ । अब बिस्तारै गण्डकी प्रदेशमा पनि मौसम सुधार हुँदै छ । मौसम पूर्वानुमान महाशाखाबाट हामीले जारी गरेको विशेष मौसम बुलेटिन तथा नियमित मौसम पूर्वानुमानमा पनि शनिबार दिउँसोदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी दिइसकेका छौ । त्यसैले अहिले धेरैजसो ठाउँमा मौसममा सुधार भइरहेकाले सोमबारसम्म मौसममा उल्लेखनीय सुधार हुने देखिन्छ ।

सोमबारसम्म मौसममा सुधार हुने भन्नुभयो । त्यसपछि देशभर घाम लाग्ने अवस्था रहन्छ कि अझै बदली र वर्षाको सम्भावना छ ?

सोमबार पनि पहाडी तथा माथिल्ला भूभागका केही ठाउँमा आंशिक बदली रही छिटपुट हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । विशेष गरी कोशी, बागमती, गण्डकी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका माथिल्ला भूभागमा आंशिक बादल लाग्न सक्छ। एक/दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिन्छ । यद्यपि सोमबारदेखि मौसम थप सामान्य हुँदै जानेछ। मंगलबारदेखि देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना छ । अहिलेको पूर्वानुमानअनुसार आधाभन्दा बढी भूभागमा सोमबार नै घाम देख्न सकिन्छ भने मंगलबारदेखि देशका प्रायः सबैजसो भूभागमा मौसम खुल्ने देखिन्छ ।

मौसम खुलेपछि फेरि वर्षा हुने हो कि भन्ने आशङ्का धेरैलाई छ । आउँदो एक हप्ताको मौसमको अवस्था कस्तो देखिन्छ ?

आउँदो सोमबारदेखि खुलेको मौसम तत्कालै फेरि ठूलो मात्रामा बदली भएर बिग्रिने अवस्था देखिएको छैन । यद्यपि मौसम पूर्वानुमान महाशाखाले जारी गरेको एक साताको पूर्वानुमानलाई हेर्दा सोमबारदेखि शुक्रबारसम्म एक/दुई ठाउँमा हल्का तथा छिटपुट वर्षा हुने सम्भावना छ । त्यसबाहेक समग्र मौसम प्रतिकूल हुने अवस्था देखिँदैन । कृषि, पर्यटन तथा अन्य दैनिक गतिविधि सोमबारदेखि बिस्तारै अगाडि बढाउन सक्नुहुन्छ । तर मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा मौसम पूर्वानुमानको जानकारी लिइरहन आवश्यक छ ।

पछिल्लो वर्षाका कारण धानबालीमा असर परेको छ । अब किसानले धान काट्ने र भित्र्याउने तयारी गर्दा हुन्छ ?

अहिलेको मौसमको अवस्थालाई हेर्दा किसानले धान काट्ने तयारी गर्न सक्नुहुन्छ । तर तत्कालै धान काट्नुभन्दा पनि एक/दुई दिन घाम लागेर खेत तथा धान सुकिसकेपछि मात्र काट्ने र भित्र्याउने काम शुरु गर्नु बढी उपयुक्त हुन्छ । वर्षाका कारण खेतमा चिस्यान रहेको हुन सक्छ । यस्तो अवस्थामा हतारमा धान काट्दा सुकाउन र भित्र्याउन समस्या हुन सक्छ । त्यसैले एक–दुई दिन घाम लागेपछि मात्र बिस्तारै धान काट्ने र भित्र्याउने काम गर्नु राम्रो हुन्छ । अहिलेको मौसम विश्लेषणअनुसार तत्कालै ठूलो वर्षा भएर किसानलाई पुनः समस्या पार्ने सम्भावना देखिएको छैन ।

काटिसकेको धान खेतमै छ भने किसानले कस्तो सावधानी अपनाउनुपर्छ ?

काटिसकेको धान खेतमा छ भने मौसमको अवस्थालाई ध्यान दिनुपर्छ । विशेष गरी छिटपुट वर्षाको सम्भावना रहेका ठाउँमा काटेको धान भिज्न नदिन आवश्यक सावधानी अपनाउनुपर्छ। हल्का वर्षाले पनि काटेको धान भिज्न सक्छ र त्यसले सुकाउन तथा भित्र्याउन समस्या पार्न सक्छ । त्यसैले धान काट्ने, सुकाउने र भित्र्याउने काम गर्दा ठाउँीय मौसमको अवस्थाबारे जानकारी लिनुपर्छ। घाम लागेको अवस्थामा धान सुकाउने र वर्षाको सम्भावना देखिएमा सुरक्षित ठाउँमा राख्ने व्यवस्था गर्नुपर्छ ।

पहाडी तथा हिमाली क्षेत्रमा अझै हल्का वर्षा र हिमपातको सम्भावना छ भन्नुभयो । त्यहाँका सर्वसाधारण र किसानले के कुरामा ध्यान दिनुपर्छ ?

पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा अझै आंशिक बदली र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका सर्वसाधारणले बाहिरी गतिविधि गर्दा मौसमको अवस्थालाई ध्यान दिनुपर्छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको पछिल्लो सूचना लिएर मात्र यात्रा गर्नु उपयुक्त हुन्छ । किसानले पनि मौसमको अवस्था हेरेर कृषि कार्य गर्नुपर्छ। मौसम सामान्य हुँदै गए पनि छिटपुट वर्षाको सम्भावना पूर्ण रूपमा हटेको छैन ।

मौसम पूर्वानुमान परिवर्तन भइरहन सक्छ ।  आधिकारिक सूचना कसरी प्राप्त गर्न सकिन्छ ?  

मौसम पूर्वानुमान निश्चित समयको अवस्थालाई विश्लेषण गरेर जारी गरिने भएकाले पछिल्लो समयमा त्यसमा केही परिवर्तन हुन सक्छ । आज जारी गरिएको पूर्वानुमानमा पर्सिका लागि गरिएको आकलन भोलि जारी हुने नयाँ पूर्वानुमानमा केही फरक पर्न सक्छ ।

त्यसैले सर्वसाधारणले जल तथा मौसम विज्ञान विभागको वेबसाइट, सामाजिक सञ्जाल तथा टोल फ्रि नम्बरमार्फत आधिकारिक जानकारी लिन सक्नुहुन्छ । विशेष गरी किसानले कृषि कार्य शुरु गर्नुअघि मौसमको पछिल्लो पूर्वानुमान हेर्नु आवश्यक छ । नियमित रूपमा आधिकारिक सूचना लिएर मात्र धान काट्ने, सुकाउने र भित्र्याउने काम गर्न म आग्रह गर्दछु ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता