दशैँको बेला अन्य समयको तुलनामा जिउधनको सुरक्षामा जोखिम बढी हुने भएकाले विशेष सुरक्षा योजनासहित काम गरिरहेको नेपाल प्रहरीले जनाएको छ । अहिले धेरैजसो मानिस दशैँको रमाइलोमा व्यस्त छन् । लामो समयपछि दशैँको बिदामा शहरबजारको बसाइ छाडेर गाउँका पुर्ख्यौली घर पुगेका उनीहरू आफन्तसँग भेटघाट गर्ने र सुख दुःख साटासाट गर्ने क्रममा छन् । तर, यही मौका छोपेर कुटपिट, चोरी, डकैती, लुटपाट तथा कालोबजारीजस्ता गतिविधि हुन सक्ने भएकाले सुरक्षा जोखिम बढ्ने सम्भावना पनि उत्तिकै छ । यसै सन्दर्भमा साथी कृष्ण शर्माले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले सँग दशैँलक्षित सुरक्षा योजना र त्यसको कार्यान्वयनको अवस्थाबारे कुराकानी गर्नुभएको छ ।
चाडपर्वका बेला शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले कस्ता चुनौतीहरूको सामना गरिरहेको छ ?
दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा झैझगडा, गाडी दुर्घटना, मादक पदार्थ सेवन गरेर हुने होहल्ला तथा उग्र रूप लिने घटनाको जोखिम हुन्छ । यसका साथै धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक द्वन्द्व, अनलाइन ठगी, आर्थिक अपराध, चोरी, डकैती, सीमा नाकाबाट पटका तथा विस्फोटक पदार्थ भित्रिने प्रवृत्ति र कालोबजारी पनि मुख्य चुनौतीका रूपमा रहेका छन् । यी चुनौतीलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले के गरिरहेको छ ?
नेपाल प्रहरीले असोज २१ गतेदेखि नै देशव्यापी रूपमा विशेष सुरक्षा योजना लागू गरेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन, नियमित गस्ती तथा निगरानी बढाउने र शङ्कास्पद गतिविधिमाथि निगरानी राख्ने काम भइरहेको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु प्रहरीको मुख्य उद्देश्य हो ।
दशैँ मनाउन गाउँ जाने सर्वसाधारणले घरको सुरक्षाका लागि के कुरामा ध्यान दिनुपर्छ ?
घर छाडेर बाहिर जाँदा ढोका तथा झ्याल राम्ररी बन्द गर्नुपर्छ । घरमा रहेका बहुमूल्य सामान सुरक्षित राख्ने र सम्भव भएसम्म छिमेकीलाई आफू बाहिर जाने जानकारी गराउनु उपयुक्त हुन्छ । घर आसपास कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्छ । मुख्यतः यसका लागि नागरिकको सचेतनाले चोरी तथा अन्य आपराधिक घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुर्याउँछ ।
यस पटक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन के कस्ता उपाय अपनाइएका छन् ?
भिडभाड हुने स्थानमा ड्रोन, तालिमप्राप्त कुकुर, बडी वार्न क्यामेरा तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरिएको छ । देशभर यात्रु सहायता स्थापना गरिएका छन् । सार्वजनिक चालकलाई गाडी छुट्ने ठाउँमै रक्सी खाए नखाएको (मापसे) तथा लागूपदार्थ सेवन (लापसे) परीक्षण गर्ने व्यवस्था गरिएको छ । प्राविधिक परीक्षणमा असफल भएका गाडीलाई लामो यात्रामा रोक लगाउने व्यवस्था पनि मिलाइएको छ । सञ्चार माध्यम, विभिन्न सामाजिक सञ्जाल लगायतका प्रयोगबाट पनि सचेतना र सूचना आदानप्रदान गर्ने परिपाटि मिलाएर काम गरिरहेका छौँ ।
ग्रामीण क्षेत्रमा सवारी नियम उल्लङ्घन र मनपरी रुटमा गाडी चलाउने समस्या रोक्न कस्तो योजना छ ?
शहर र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै रणनीति पनि अपनाइएको छ । ग्रामीण क्षेत्रमा गाडीको छतमा यात्रु राख्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएको रुटभन्दा बाहिर गाडी चलाउने तथा प्राविधिक अवस्था ठीक नभएका सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति नियन्त्रण गर्न कडा जाँच भइरहेको छ । यातायात व्यवसायीसँग समन्वय गरेर स्थानीय प्रहरीले निरन्तर अनुगमन गरिरहेको छ । चालकले नियम उल्लङ्घन गरेको पाइएमा सर्वसाधारणले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सक्ने छन् ।
विभिन्न स्थानमा हुने मेला तथा पर्वमा भिडभाड र झडप हुन नदिन कस्तो तयारी गरिएको छ ?
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्न, मेला तथा पर्वका आयोजकसँग र धार्मिक अगुवाहरू सँग समन्वय गरेर आवश्यक छलफल र बैठक गरिएको छ । झैझगडा, मादक पदार्थको बिक्री वितरणबाट उत्पन्न हुन सक्ने समस्या तथा आपत्कालीन जोखिम नियन्त्रण गर्न आयोजकसँग सहकार्य भइरहेको छ । ठूला मेलामा ड्रोन, तालिमप्राप्त कुकुर र सीसीटीभी क्यामेराको सहायताले निगरानी गर्ने तथा प्रहरी गस्ती बढाउने व्यवस्था मिलाइएको छ ।
चाडपर्वका बेला प्रहरी कर्मचारीको बिदा व्यवस्थापन र मनोबल उच्च राख्न के गरिएको छ ?
प्रहरीको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा र सेवा भएकाले विशेष पर्वमा पनि चौबीसै घण्टा प्रहरी परिचालन गरिन्छ । बर्दीधारीसँगै सादा पोसाकमा पनि प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरी कर्मचारीको मनोबल उच्च राख्न कल्याणकारी कार्यक्रम तथा शहीद र घाइते प्रहरी कर्मचारीका परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन्। नागरिकको साथ, विश्वास र स्वअनुशासन नै हाम्रो ठूलो शक्ति हो ।
चाडपर्वका बेला कुनै आपराधिक घटना वा सुरक्षा समस्या परे सर्वसाधारणले प्रहरीसँग कसरी सम्पर्क गर्ने ?
कुनै आपराधिक घटना वा सुरक्षा समस्या परे सर्वसाधारणले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्छन् । तत्काल प्रहरी सहायता आवश्यक परे नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिन्छ । समयमै सूचना प्राप्त भएमा प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन र सम्भावित क्षति न्यूनीकरण गर्न सहज हुन्छ । त्यसैले सबै नागरिकलाई सचेत रहन, सुरक्षा नियमको पालना गर्न र शङ्कास्पद गतिविधिबारे प्रहरीलाई जानकारी दिन आग्रह गर्दछ ।