नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

खेर जाने फूलबाट पनि नयाँ उद्योग र रोजगारीको सम्भावना

नेपालमा फूलको माग र कारोबार बर्सेनि बढ्दै गएको छ । यस वर्ष तिहारमा मात्रै सयपत्री फूलको थोक कारोबार झन्डै ६० देखि ७० करोड रुपैयाँसम्म भएको अनुमान छ । फूलको बढ्दो मागसँगै यसको व्यावसायिक उत्पादन र कारोबार पनि बिस्तार भइरहेको छ । तर प्रयोग भइसकेका फूलको व्यवस्थापन र पुनः प्रयोगबारे भने कुनै पहल भएको देखिँदैन । यसै विषयमा साथी कृष्ण शर्माले फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठसँग नेपालमा फूलको उत्पादन तथा कारोबार र यसको पुनः प्रयोगका विकल्पबारे कुराकानी गर्नुभएको छ ।

नेपालमा फूलको कारोबार बढ्दै गएको छ । अहिले फूलको बजार अवस्था कस्तो छ ?

नेपालमा फूलको माग पछिल्ला वर्षमा बढ्दै गएको छ । तिहार, विवाह, पूजा तथा विभिन्न कार्यक्रमका कारण फूलको खपत बढेको छ । यस वर्ष तिहारमा सयपत्री फूलको थोक कारोबार झन्डै ६० देखि ७० करोड रुपैयाँसम्म भएको अनुमान छ । समग्र फूलको वार्षिक कारोबार करिब चार अर्ब रुपैयाँ पुगेको छ । यो क्षेत्र बर्सेनि १५ देखि २० प्रतिशतले बिस्तार भइरहेको छ । माग बढेकाले पहिलेको तुलनामा फूल खेर जाने समस्या पनि केही कम भएको छ ।

फूल उत्पादन बढी हुने समयमा बजारमा खपत नभएका फूलको अवस्था के हुन्छ ?

नेपालमा मौसमी र वर्षभरि फूल उत्पादन गर्ने दुवै खालका किसान छन् । विशेष गरी जेठदेखि भदौसम्म उत्पादन बढी हुने तर माग तुलनात्मक रूपमा कम हुने भएकाले केही फूल खेर जाने अवस्था आउँछ । तिहारपछि पनि मौसमी रूपमा फूल खेती गर्ने किसानले अन्य बाली वा उत्पादनतर्फ ध्यान दिन्छन् । उत्पादन र मागबीच सन्तुलन कायम गर्न सके फूल खेर जाने समस्या अझै घटाउन सकिन्छ ।

प्रयोग भइसकेका फूललाई पुनः प्रयोग गर्ने सम्भावना कत्तिको छ ?

प्रयोग भइसकेका फूललाई पूर्ण रूपमा फोहोरका रूपमा मात्र हेर्नु हुँदैन । त्यसबाट विभिन्न उपयोगी सामग्री बनाउन सकिन्छ । विशेष गरी सयपत्री फूलबाट अगरबत्ती बनाउन सकिन्छ । फूलमा पाइने प्राकृतिक रङलाई उपयोग गरेर रङजन्य सामग्री उत्पादन गर्ने सम्भावना पनि छ । त्यस्तै फूलबाट सौन्दर्य सामग्री बनाउन सकिने विषयमा पनि विभिन्न प्रयास भएका छन् । केही ठाउँमा प्रयोग भएका फूल सङ्कलन गरेर अगरबत्ती बनाउने कामसमेत गरिएको छ । तर यसलाई व्यवस्थित र व्यावसायिक रूपमा बिस्तार गर्न भने बाँकी छ ।

प्रयोग भइसकेका फूलबाट कस्ता सामग्री उत्पादन गर्न सकिन्छ ?

फूलबाट अगरबत्ती, प्राकृतिक रङ र सौन्दर्य सामग्री उत्पादन गर्न सकिन्छ । विशेष गरी फूलमा पाइने रङलाई प्रशोधन गरेर प्राकृतिक रङका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ । यसका लागि अनुसन्धान, प्रविधि र आवश्यक प्रशोधन विधिको विकास गर्नुपर्छ । फूलको प्रकार र गुणस्तरअनुसार त्यसको उपयोग फरक हुन सक्छ । त्यसैले कुन फूलबाट कस्तो सामग्री बनाउन सकिन्छ भन्ने विषयमा थप अध्ययन आवश्यक छ ।

प्रयोग भइसकेका फूलको व्यवस्थित सङ्कलन प्रणाली कसरी विकास गर्न सकिन्छ ?

सबैभन्दा पहिले प्रयोग भएका फूललाई अन्य फोहोरबाट छुट्टै सङ्कलन गर्ने व्यवस्था हुनुपर्छ । घर, मन्दिर, पूजा स्थल, होटल तथा विभिन्न कार्यक्रम स्थलबाट निस्कने फूल छुट्टै राख्न सकिन्छ । स्थानीय तहले सङ्कलन केन्द्र तोक्ने र निजी क्षेत्रले सङ्कलन तथा प्रशोधनको जिम्मेवारी लिने व्यवस्था गर्न सक्छन् । नगरपालिका, फूल व्यवसायी र उद्यमीबीच सहकार्य भयो भने प्रयोग भएका फूललाई उद्योगका लागि कच्चा पदार्थका रूपमा उपलब्ध गराउन सकिन्छ ।

फूलको पुनः प्रयोगलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्न निजी क्षेत्र किन अघि बढ्न सकेको छैन ?

यस क्षेत्रमा सम्भावना भए पनि आवश्यक प्रविधि, लगानी, दक्ष जनशक्ति र बजारको स्पष्टता पर्याप्त छैन । प्रयोग भएका फूल सङ्कलनदेखि प्रशोधन र बजारीकरणसम्मको व्यवस्थित शृङ्खला बनाउनुपर्ने हुन्छ । उत्पादनको गुणस्तर कायम गर्ने र बजार सुनिश्चित गर्ने चुनौती पनि छ । यसका लागि सम्भाव्यता अध्ययन, प्रविधिको उपलब्धता र लगानीको वातावरण आवश्यक हुन्छ । यी आधार तयार भए निजी क्षेत्र आकर्षित हुन सक्छ ।

फूलबाट बनेका सामग्रीको बजार कसरी बिस्तार गर्न सकिन्छ ?

उत्पादन गर्नुमात्र पर्याप्त हुँदैन, त्यसको बजार पनि सुनिश्चित हुनुपर्छ । फूलबाट बनेका सामग्रीको गुणस्तर राम्रो हुनुपर्छ र उपभोक्तालाई त्यसको उपयोगिता बुझाउनुपर्छ । स्वदेशी उत्पादनको प्रवर्द्धन, प्रचार-प्रसार र बजार बिस्तारमा सरकार तथा निजी क्षेत्र दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्ता सामग्रीलाई वातावरणमैत्री उत्पादनका रूपमा स्थापित गर्न सके बजार बिस्तारमा सहयोग पुग्न सक्छ ।

फूलको पुनः प्रयोगबाट रोजगारी र स्थानीय अर्थतन्त्रमा कस्तो योगदान पुग्न सक्छ ?

फूल सङ्कलन, वर्गीकरण, प्रशोधन र विभिन्न सामग्री उत्पादन गर्ने कामबाट स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिन्छ । महिला, युवा तथा साना उद्यमीलाई यस क्षेत्रमा जोड्न सकिन्छ । अहिले खेर गइरहेको फूललाई कच्चा पदार्थका रूपमा उपयोग गर्न सके फोहोर व्यवस्थापनमा सहयोग पुग्नुका साथै नयाँ व्यवसाय र आम्दानीको स्रोत पनि बन्न सक्छ । यसले फूल खेती गर्ने किसानलाई समेत थप बजार उपलब्ध गराउन सक्छ ।

फूलको पुनः प्रयोगका लागि सरकारसँग कस्तो सहकार्य आवश्यक छ ?

सरकारले फूल व्यवसायलाई उच्च मूल्यको कृषि उत्पादनका रूपमा हेर्नुपर्छ । फूल खेती र यसको प्रशोधनमा संलग्न व्यवसायीलाई आवश्यक प्रविधि, सहुलियतपूर्ण ऋण, बीउबिजन, सिँचाइ, विद्युत् र अन्य पूर्वाधारमा सहयोग गर्नुपर्छ । प्रयोग भएका फूलको व्यवस्थापन र पुनः प्रयोगका लागि पनि स्थानीय तहसँग सहकार्य आवश्यक छ । यस विषयमा सरकारसँग थप छलफल र पहल गर्नुपर्ने देखिएको छ ।

फूल व्यवसायको विकासमा अहिले मुख्य चुनौती के–के छन् ?

जलवायु परिवर्तन, बाढी तथा प्रतिकूल मौसमका कारण फूल उत्पादनमा असर पर्ने गरेको छ । त्यसैले किसानका लागि बाली बीमाको व्यवस्था आवश्यक छ । त्यस्तै, कृत्रिम प्लास्टिकका फूलको प्रयोग र भारतबाट हुने अनौपचारिक आयातले स्वदेशी उत्पादनलाई असर पारेको छ । नेपालमा जग्गा, सिँचाइ, विद्युत्, ऋण, मल, बीउ र प्रविधिको लागत तुलनात्मक रूपमा बढी छ । यी समस्या समाधान गर्न सके नेपाली फूलको उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ ।

फूलको पुनः प्रयोग र उद्योग विकासका लागि आगामी योजना के छ ?

फूलको पुनः प्रयोगमा अनुसन्धान गर्ने, नयाँ प्रविधि भित्र्याउने र उद्यम सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थासँग सहकार्य गर्न सकिन्छ । यस क्षेत्रमा काम गर्न चाहने अनुसन्धानकर्ता र उद्यमीले व्यावहारिक प्रस्ताव ल्याएमा व्यवसायीका संस्थाले सहकार्य गर्न सक्छन् । फूल व्यवसायसम्बन्धी पुराना नीति पनि समयअनुसार परिमार्जन गर्न आवश्यक छ । नेपालमा फूल उत्पादनको राम्रो सम्भावना छ । उचित नीति, प्रविधि र लगानीको वातावरण बनाउन सके स्वदेशी बजारसँगै निर्यातको सम्भावना पनि बढाउन सकिन्छ ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता