नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

‘धान काट्न बाँकी छ भने अर्को हप्तासम्म पर्खनुहोस्’

काठमाण्डौ – देशका धेरै ठाउँका किसान धान भित्र्याउन व्यस्त छन् । यहीबेला मौसमविद्हरूले भोलि बुधबारदेखि शनिबारसम्म देशभर पानी पर्ने बताएपछि धानबाली कसरी जोगाउने भन्ने चिन्ता बढेको छ । पानी पर्छ भन्ने सुनेपछि केही किसानले हतारहतार धान काटेर भित्र्याइसकेका छन् । तर धेरै ठाउँमा धान काट्न र भित्र्याउन बाँकी नै छ । काट्न बाँकी धान कसरी जोगाउने भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका कृषि मौसमविद् रामेश्वर रिमालसँग कृष्ण शर्माले कुराकानी गर्नुभएको छ ।

अहिले धान भित्र्याउने बेलामा पानी पर्छ भन्ने पूर्वानुमान छ । अहिले पर्ने पानीको जोखिम कत्तिको हुन्छ ?

यतिबेला देशैभरका किसानहरु धान काट्ने र भित्र्याउने एकदमै चटारोमा हुनुहुन्छ । यस्तो समयमा खेतमा पाकेर तयार भएको धानबाली असिना, पानीका कारण झर्ने, भिज्ने हुँदा ठूलो आर्थिक नोक्सानीको जोखिम हुन्छ । तथापि, ठूलो वर्षा कुन–कुन निश्चित स्थानमा हुन्छ भनेर अहिल्यै शतप्रतिशत भन्न सकिने अवस्था हुँदैन तर हाल पूर्वानुमान गरिएको बाटो (ट्र्याक) भन्दा कहिलेकाहीँ अलिकति फरक दिशामा यो प्रणाली जान पनि सक्छ । तर, ध्यान दिनुपर्ने कुरा के छ भने, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिन पुग्यो भने केही क्षेत्रहरूमा सोचेभन्दा बढी वा ठूलो वर्षा हुन सक्ने जोखिम भने रहन्छ । हामी आत्तिनुभन्दा पनि सतर्क र पूर्वतयारी अवस्थामा रहनुपर्छ ।

सम्भावित ठूलो वर्षाबाट धानबाली जोगाउन के कस्ता उपायहरू अपनाउनुपर्छ ?

यस्तो जोखिमबाट बच्न किसानले सकेसम्म यो प्रणाली पूर्ण रूपमा सक्रिय हुनुभन्दा अघि नै पाकिसकेको धानबाली काटेर भित्र्याउने प्रयास गर्नुपर्छ । यदि पूर्ण रूपमा भित्र्याउन सम्भव भएन भने पनि ओत लाग्ने वा अग्लो ठाउँमा, जहाँ पानीको भल नथुप्रिने ठाउँको भुइँमा प्लास्टिक वा त्रिपाल बिछ्याएर काटेको धानबाली राख्ने र त्यसलाई माथिबाट पनि राम्रोसँग ढाकेर पानी पस्न नदिने व्यवस्था गर्नुपर्छ । 

अर्को महत्त्वपूर्ण कुरा, यदि कसैको धानबाली पाक्न अझै एकहप्ता–दश दिन बाँकी छ र पर्खिँदा राम्रोसँग पाक्छ भने अहिले हतारिएर काँचोमै काट्नु हुँदैन । काँचो अवस्थामा काट्दा पछि धान कुटेर निकालिने चामलको गुणस्तर बिग्रिन्छ । दाना टुक्रिन्छ, कनिका धेरै बन्छ र भण्डारण गर्दा पुतली तथा अन्य किराहरूको प्रकोप बढ्न सक्छ । त्यसैले हप्ता–दश दिन पर्खिन सकिने बालीलाई अहिले नै हतार गरेर नकाट्नु नै उपयुक्त हुन्छ ।

यो मौसमी प्रणालीसँगै असिना पनि पर्न सक्छ भन्ने खालका सूचनाहरू आइरहेका छन् । यस्तो बेला पर्न सक्ने असिनाले पूर्ण रूपमा नपाकेको तर पाक्न लागेकोे धानबालीलाई कत्तिको क्षति पुर्‍याउँछ ?

पक्कै पनि, यतिखेर पर्न सक्ने असिनाले धानबालीलाई ठूलो नोक्सानी पुर्‍याउँछ । धेरै पाकिसकेको धानमा असिना पर्दा बालाबाट दानाहरू झरेर खेतभरि पोखिने भएकाले अझ धेरै क्षति हुन्छ भने अलिअलि काँचो अवस्थाको धानमा दाना झर्ने दर थोरै कम भए पनि क्षति भने अवश्य हुन्छ । असिनाले धानको बोट र बालालाई ठूलो चोट पुर्‍याउँदा क्षतिको जोखिम धेरै हुन सक्छ । यसका साथै अहिले किसानको बगैँचामा सुन्तला जातका फलफूलहरू पनि फल लागिसकेको वा पाक्ने क्रममा रहेको अवस्था छ । यस्तो बेला असिना पर्‍यो भने त्यसले सुन्तला, कागतीजस्ता सुन्तला जातका बालीहरूमा पनि फल झार्ने र फलमा चोट पुर्‍याएर कुहाउने जस्ता गम्भीर असरहरू पार्न सक्छ ।

नेपालमा फरक–फरक भूवनोटमा धान खेती गरिन्छ । यसकारण हाम्रो भौगोलिक बनावटका आधारमा पनि सुरक्षाका केही उपायहरू अपनाउन सकिन्छ ?

भौगोलिक बनावटअनुसार अपनाउनुपर्ने सावधानी र उपायहरू निश्चित रूपमा फरक हुन्छन् । जस्तै पहाडी वा हिमाली भेगका भिरालो जमिनहरूमा परेको पानी सजिलै बगेर जान्छ, जसले गर्दा खेतमा पानी थुप्रिने सम्भावना कम हुन्छ । त्यस्ता ठाउँमा धान काटेर एकै ठाउँमा एकीकृत गरी माथिबाट प्लास्टिक वा त्रिपालले छोप्न सकियो भने पानी बगेर जान्छ र धान सुरक्षित रहन्छ । तर, तराईका समथर भूभागहरू वा वरपरबाट पानी बगेर आउने घोल क्षेत्रका जग्गाहरूमा भने ठूलो समस्या हुन सक्छ । त्यस्ता ठाउँमा वरपरको पानी बगेर आएर खेतमै जम्ने र काटेको वा नकाटेको धान डुबाउने खतरा हुन्छ । त्यसैले तराईका घोल वा होचा क्षेत्रमा काट्ने बेला भइसकेको धान छ भने त्यसलाई काटेपछि तुरुन्तै अलि अग्लो र पानी नजम्ने सुरक्षित ठाउँतिर सारेर राख्नुपर्छ । यदि पानी निकास गर्ने कुनै पनि सम्भावना छैन र धान काट्न अझै केही दिन बाँकी छ भने यो मौसमी प्रणाली नसकिउन्जेल र घाम नलागुञ्जेल धान नकाट्ने योजना बनाउनु नै बुद्धिमानी हुन्छ ।

काटिसकेपछि खेतमै थुपारेर राखिएको धानलाई बाहिरबाट पर्ने पानी वा भलले कस्तो असर गर्छ र त्यसबाट जोगाउन के गर्नुपर्ला ?

धान काटेर थुपार्दा वा कुन्यु लगाउँदा दुईवटा कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो, माथि आकाशबाट पर्ने पानीबाट बचाउन प्लास्टिक वा त्रिपालले राम्रोसँग छोप्नुपर्छ। दोस्रो महत्त्वपूर्ण कुरा, जमिनबाट बगेर आउने भल पानी कुन्युभित्र वा धान थुपारेको ठाउँमा पस्न दिनु हुँदैन । यसका लागि धान थुपार्नुअघि नै त्यसको चारैतिर कुल्लेसो (नाली) खनेर बगेर आउने भल अर्कैतिर पन्छाउने व्यवस्था गर्नुपर्छ । अथवा, जमिनमा सोझै धान नराखी स्थानीय रूपमा उपलब्ध हुने काठका मुडाहरू, बाँस वा भाटाहरू राखेर जमिनभन्दा अलिकति माथि उठाएर मञ्च जस्तै बनाउनुपर्छ । त्यसमाथि प्लास्टिक बिछ्याएर मात्र धान राख्न सकियो भने तल जमिनबाट आउने भलले पनि असर गर्दैन र माथिबाट छोपेपछि आकाशको पानीले पनि भिजाउन पाउँदैन। यसरी थुपारिएको धानलाई सुरक्षित राख्न सकिन्छ ।

कुन्यु लगाएर वा प्लास्टिकले ढाकेर राखिएको धान कति दिनसम्म सुरक्षित रहन्छ ?

यो अलि प्राविधिक र ध्यान दिनुपर्ने विषय हो । धान कति दिनसम्म सुरक्षित रहन्छ भन्ने कुरा धान काट्ने समयमा त्यो धानको बाला र नल (बोट) मा कति प्रतिशत चिस्यान (मोइस्चर) थियो भन्ने कुरामा भर पर्छ । यदि पराल एकदमै चिसो वा हरियो छ भने धेरै दिन राख्दा गुम्सिएर तातो भई धान कुहिने वा टुसाउने सम्भावना हुन्छ । तर अहिलेको मौसमी विश्लेषणअनुसार यो न्यून चापीय प्रणाली करिब–करिब तीन दिनमा सकिने देखिन्छ । त्यसैले अहिलेको अवस्थामा धान धेरै दिनसम्म कुहिएरै जाने गरी मौसम लम्बिने अवस्था देखिँदैन । तसर्थ किसान साथीहरू धेरै आत्तिनुपर्ने स्थिति छैन ।

यदि सावधानीहरू अपनाउँदा–अपनाउँदै पनि धान भिज्न पुग्यो भने त्यसलाई बिग्रिन नदिन वा पुनः प्रयोगयोग्य बनाउने कुनै उपायहरू छन् ?

सावधानी अपनाउँदा–अपनाउँदै पनि यदि धान भिज्न पुग्यो भने पहिलो नियम भनेको यस्तो भिजेको धानलाई लामो समयसम्म भण्डारण गरेर राख्नु हुँदैन । यदि नलसँगै धान भिजेको छ भने गाउँघरमा उपलब्ध हुने बाँसका भाटाहरू वा बार बनाएर धानका मुठाहरूलाई ठाडो पारेर पानी तर्किने गरी राख्नुपर्छ । पानी राम्रोसँग तर्किसकेपछि त्यसलाई तुरुन्तै चुटेर (झाटेर) दाना अलग्याउनुपर्छ । यस्तो भिजेको धानलाई सुकाउन घाम लागेन भने नजिकैको कृषि प्रशोधन मिलसँग समन्वय गरेर चिउरा, भुजा वा पिठो बनाउनेतर्फ लाग्नुपर्छ। विशेष गरी घरमा उपभोग गर्ने निर्वाहमुखी किसानहरूले यसलाई तुरुन्तै चिउरा वा पिठो बनाएर प्रयोगमा ल्याउन सक्नुहुन्छ । व्यावसायिक रूपमा खेती गर्ने किसानहरूले पनि मिलहरूसँग समन्वय गरी जतिसक्दो छिटो चिउरा वा अन्य परिकारका रूपमा बजारीकरण गर्ने प्रक्रियामा लैजानुपर्छ ।

अहिले ग्रामीण क्षेत्रमा जनशक्तिको ठूलो अभाव छ । कम समय र सीमित जनशक्तिका बीच छिटोभन्दा छिटो धान काटेर भित्र्याउनका लागि किसानहरूले के के विकल्प अपनाउन सक्छन् ?

जनशक्तिको अभाव अहिलेको मुख्य चुनौती हो । यस्तो अवस्थामा समथर वा सुगम जग्गा भएका ठाउँहरूमा जहाँ नजिकै ‘कस्टम हाइरिङ सेन्टर’ (कृषि यन्त्र भाडामा पाइने केन्द्र) हरू छन्, त्यहाँ किसानहरूले आधुनिक मेसिनहरूको प्रयोग गर्न सक्नुहुन्छ । जस्तैः कम्बाइन हार्भेस्टर, रिपर वा ब्रस कटर जस्ता मेसिनहरूको प्रयोग गरेर छोटो समयमै धेरै क्षेत्रफलको धान काटेर सुरक्षित ठाउँमा सङ्कलन गर्न सकिन्छ । दोस्रो उपाय भनेको परम्परागत पर्म वा श्रम आदानप्रदानको संस्कृतिलाई ब्युँताउनु हो । टोलछिमेकमा भएका मानिसहरू सङ्गठित भएर जुन किसानको धान पूर्ण रूपमा पाकेको छ र मौसमको जोखिममा छ, पहिला उसको धान सबै मिलेर काट्ने र क्रमशः अन्य किसानको भित्र्याउने, अर्को महत्त्वपूर्ण कुरा, धेरैजसो ठाउँमा धान काटेपछि दुई–तीन दिन खेतमै सुकाउन छोड्ने र त्यसपछि मात्र चुट्ने परम्परा छ । तर हतार गरेर सुकाउन छाड्ने गल्ती पनि गर्नु हुँदैन। पर्खिन नसकिने धानलाई जतिसक्यो छिटो काटेर ओतमा सुरक्षित राख्ने र मौसमी प्रणाली बाहिरिएर घाम लागेपछि मात्र सुकाएर भण्डारण गर्नुपर्छ ।

आधुनिक यन्त्र उपकरणको कुरा गर्दा तराईमा धेरै प्रयोग हुन्छ । तर पहाडी भेगका निकै  कम छ यस्का लागि यन्त्र उपकरणको विकल्प के छ ?

पहाडी क्षेत्रको भौगोलिक धरातलअनुसार ब्रस कटर जस्ता साना मेसिनहरू धान काट्नका लागि एकदमै उपयोगी र व्यावहारिक देखिएका छन् । पहाडका पनि केही समतल भूभागहरू जस्तै उपत्यका वा नदी किनारका फाँटहरूमा अहिले पनि साना रिपर वा हाते ट्र्याक्टरहरू प्रयोग भइरहेका छन् । ठूला कम्बाइन हार्भेस्टरहरू भने विशेष गरी तराईका चक्लाबन्दी गरिएका ठूला खेतहरूमा मात्र बढी प्रभावकारी हुन्छन् । जहाँसम्म पहुँचको कुरा छ, हामी नेपालमा कृषि यन्त्रीकरणको प्रारम्भिकदेखि मध्यमतर्फको चरणमा छौँ । त्यसैले यस्ता उपकरणहरूको पहुँच देशका सबै भागमा शतप्रतिशत पुगिसकेको छैन । तर किसानहरूले आफ्नो नजिकै रहेका कस्टम हाइरिङ सेन्टर, अगुवा कृषक वा कृषि सहकारीहरूसँग सम्पर्क गरेर यी मेसिनहरू भाडामा वा सामूहिक रूपमा प्रयोग गर्न सक्नुहुन्छ । अर्को कुरा मेसिन खरिद गर्दा सुरुमा केही खर्च लागे पनि वा भाडामा लिँदा खर्च देखिए पनि, परम्परागत रूपमा धेरै ज्यामी (श्रमिक) लगाएर धान काट्ने र भित्र्याउने खर्चको तुलनामा मेसिनको प्रयोग निकै सस्तो र लागत–प्रभावी हुन्छ । यसले समयको बचत गर्नुका साथै प्राकृतिक प्रकोपको जोखिमबाट पनि जोगाउन मद्दत गर्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यस्ता प्राकृतिक जोखिम र जलवायु परिवर्तनका कारण आइपर्ने समस्याहरूबाट किसानलाई बचाउन के–कस्ता कामहरू गरिरहेको छ ?

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले स्थापनाकालदेखि नै विभिन्न बालीका नयाँ–नयाँ र उन्नत जातहरूको विकास गर्नुका साथै पछिल्लो समय जलवायु परिवर्तन अनुकूलनका प्रविधिहरूमा विशेष ध्यान दिँदै आएको छ । विगत एक दशकदेखि हामीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई आधार मानेर हरेक शुक्रबार ‘कृषि मौसम सल्लाह बुलेटिन’ तयार गरी जारी गर्दै आएका छौँ । यो बुलेटिनमा आउँदो एक हप्ताको सम्भावित मौसमलाई मध्यनजर गर्दै किसानले आफ्नो खेतबारीमा कुन–कुन काम गर्ने, कुन काम तत्काल रोक्ने, र कुन काम मौसम बिग्रिनुअघि नै गरिसक्ने भन्नेबारे स्पष्ट र व्यावहारिक सुझावहरू दिने गरिन्छ । यसका साथै, हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, उज्यालो रेडियो नेटवर्क जस्ता राष्ट्रिय सञ्चारमाध्यमहरूबाट नियमित कृषि कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । सञ्चारकर्मी साथीहरूसँगको सहकार्यमा कृषि सम्बन्धी सूचना र ज्ञानलाई आम किसानसमक्ष पुर्‍याउने काम निरन्तर भइरहेको छ ।

नार्कले तयार पार्ने यो ‘कृषि मौसम सल्लाह बुलेटिन’ र अन्य महत्त्वपूर्ण सूचनाहरू देशको दूरदराजमा रहेका आम किसानसम्म पुर्‍याउने मुख्य माध्यमहरू के–के हुन्छ ?

हामीले सूचना पहुँचलाई सरल र सर्वसुलभ बनाउन विभिन्न आधुनिक तथा परम्परागत माध्यमहरू प्रयोग गरिरहेका छौँ । जसअन्तर्गत बुलेटिन तयार हुनेबित्तिकै देशका ७५३ वटै स्थानीय तहका कृषि तथा पशुपन्छी विकास शाखाहरूमा इमेलमार्फत पठाउँछौँ । वेबसाइट र मोबाइल एपः नार्कको आधिकारिक वेबसाइट (लबचअ।नयख।लउ० र ‘नार्क कृषि’ मोबाइल एपमा नियमित रूपमा बुलेटिन अपलोड गर्ने । हाम्रो ‘कृषि वातावरण नार्क’ नामक आधिकारिक फेसबुक पेजलाई फलो गरेर हरेक शुक्रबार मध्याह्न वा साँझसम्म बुलेटिन हेर्न सकिन्छ । त्यस्तै अर्को युवा पुस्ता र हतारमा सूचना हेर्न चाहनेका लागि मुख्य–मुख्य सुझावहरूलाई चित्र र छोटो वाक्यसहितको ‘इन्फोग्राफिक्स’ बनाएर सामाजिक सञ्चारमाध्यमहरूमा छाड्ने गरेका छौँ ।

अन्त्यमा आम किसानलाई तपाईंको सन्देश के छ ?

अन्त्यमा म के अनुरोध गर्न चाहन्छु भने, अहिले विभिन्न पालिकाहरूको समन्वयमा करिब ३०० भन्दा बढी पालिकास्तरीय ‘ह्वाट्सएप ग्रुप’ हरू निर्माण भइसकेका छन् । किसानहरूले आफ्नो पालिकाको कृषि शाखामा सम्पर्क गरी ती ह्वाट्सएप ग्रुपहरूमा जोडिन सक्नुहुन्छ । यसरी ग्रुपमा जोडिँदा मौसम र कृषिसम्बन्धी बुलेटिन सोझै आफ्नै मोबाइलमा प्राप्त हुन्छ । साथै, खेतबारीमा कुनै रोग, किरा वा मौसमसम्बन्धी समस्या देखिएमा त्यसको फोटो खिचेर वा भ्वाइस मेसेज पठाएर सोझै नार्कका विज्ञहरूसँग दोहोरो संवाद गरी समाधान पाउन सकिन्छ ।

अहिले जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा र विषम मौसमी घटनाहरू बढ्दै गएकाले सामाजिक सञ्जालका अनधिकृत हल्लाको पछि नलागी नार्क र मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना र बुलेटिनलाई मात्र आधार बनाएर आफ्नो खेतीपातीको योजना बनाउनुहुन अनुरोध गर्दछु ।
 

प्रकाशित मिति:
थप अन्तर्वार्ता