लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा साउन १२ गते मंगलबारदेखि काठमाण्डौको माइतीघरमा लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन भैरहेको छ । विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका विपन्न नागरिक, किसान तथा मजदुरहरूले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै पुनः आन्दोलन थालेका हुन् ।
सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक गरी सहमति कार्यान्वयन नगरेसम्म आन्दोलन नरोकिने संघर्ष समितिले बताएको छ । आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने मागहरू अघि सारेका छन् । साथै निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रस्तुत गरेका छन् । लघुवित्त संस्थाहरूको चर्को ब्याजदर र असुलीका नाममा दिइने मानसिक यातनाका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको पीडितहरुको भनाइ छ । लघुबित्त पीडितहरुको माग र समस्या समाधानको उपायबारे महेश ज्ञवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापासँग कुराकानी गर्नुभएको छ :
लघुबित्त पीडितहरुको आन्दोलन पटक–पटक दोहोरिनुको मुख्य कारण के हो ?
यसका केही कारणहरू छन् । पहिलो कारण, अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन । विपन्न वर्ग, विशेषतः ग्रामीण क्षेत्र र मफसलमा काम गरेर जीवन यापन गरिरहेका नेपालीहरूको जीवन एकदमै कठिन भइरहेको छ । काम पाइरहेको छैन । व्यापार–व्यवसाय पनि चलिरहेको छैन । सस्तो आयातले गर्दा आन्तरिक उत्पादन र आफ्नो व्यवसाय सञ्चालन गर्ने खालको वातावरण अहिले छैन । यो अर्थतन्त्रले राम्रो नगर्दाको परिणाम हो ।
दोस्रो कारण, अहिले बजारको ब्याजदर एकदमै तल झरेको छ । वाणिज्य बैंकहरूले ४–५ प्रतिशतमै कर्जा दिइरहेका छन् । तर लघुवित्त र सहकारीमा अझै पनि दोहोरो अंकको, अर्थात् १०–१२ प्रतिशतभन्दा माथिकै ब्याजदर छ । यति महँगो ब्याज तिरेर सञ्चालन गरिने व्यवसाय टिकाउ हुन सक्दैन । साना व्यवसायीले नाफा कमाउनु त परको कुरा, लागत घटाएर आफ्नो जीवन यापनको लागि बचत गर्नु नै असम्भव जस्तो हुन्छ ।
वाणिज्य बैंकका ऋणीहरूले अत्यन्त सस्तोमा ऋण पाउने र ब्याज अलिकति बढ्ने बित्तिकै उनीहरूको दबाबले काम गर्ने अवस्था छ, तर लघुवित्त र सहकारीका ऋणीहरूको हकमा यो लागू हुँदैन । उनीहरूले सधैँ चर्को ब्याज तिरिरहनुपर्ने बाध्यता छ ।
विश्व र नेपाली अर्थतन्त्रमा ठूलो परिवर्तन आइरहेको छ, रेमिट्यान्सले सिर्जना गरेको अधिक तरलताको लाभ ठूला ऋणीहरू अर्थात् वाणिज्य बैंकका ऋणीहरूले पाइरहेका छन् । तर सहकारी र लघुवित्तबाट ऋण लिनेहरूले भने त्यो लाभ लिन सकिरहेका छैनन् । राष्ट्र बैंक र नीति निर्माताहरूले यसतर्फ हेरेनन् भन्ने र वाणिज्य बैंकको वरिपरि रहेका ऋणी तथा संस्थाहरूलाई मात्र सुविधा दिइयो भन्ने जनगुनासो एकदमै तीव्र छ । विगत २० वर्षयता ग्रामीण कर्जासम्बन्धी कुनै अध्ययन नै भएको छैन, न त कुनै ठूलो नीतिगत वा संस्थागत परिवर्तन नै भएको छ । त्यसैले राज्यको संयन्त्रले हामीलाई हेरेन भन्ने भावना पनि व्याप्त छ ।
तेस्रो कारण, अहिले रेमिट्यान्स आइरहेको छ । रेमिट्यान्ससित आबद्ध घरपरिवारलाई अब लघुवित्त वा सहकारीको ऋण लिनैपर्ने बाध्यता छैन, किनभने विदेशमा दुःख गरेर पठाइएको पैसाले समस्या समाधान भइसकेको छ । तर वैदेशिक रोजगारीसित आबद्ध नभएका घरपरिवारलाई भने अझै एकदमै गाह्रो छ । यसरी ग्रामीण क्षेत्रमै पनि रेमिट्यान्समा आश्रित र त्यसको लाभ लिन नसक्ने परिवारका बीचमा ठूलो खाडल र विपन्नता देखिन्छ, जसको सम्बोधन अझै हुन सकेको छैन । यसले पनि यो आन्दोलनलाई मलजल गरेको जस्तो लाग्छ ।
अर्को कारण, अहिले सामाजिक दबाब पनि छ । लघुवित्तले शोषण गरेको र यो ऋण तिर्नु नै हुँदैन, माफी दिनुपर्छ भन्ने अभियान पनि चलिरहेको छ । यसको खास किसिमको राजनीतिक प्रभाव पनि आन्दोलनमा देखिन्छ ।
अन्तिम र महत्त्वपूर्ण कारण, यी लघुवित्त वित्तीय संस्थाहरू आफैं पनि एकदमै निर्मम भएका छन् । ऋण तिर्न नसकेका ऋणीको घरमै गएर कुखुरा–बाख्रा जफत गर्ने, भाँडाकुँडा लैजाने, बेइज्जत गर्ने जस्ता महाजनी शैलीका व्यवहार विगतका वर्षमा पनि सुनिन्छ । नाफा कमाउने नाममा भएका यस्ता संवेदनहीन व्यवहारले नै यो सबै विरोध भैरहेको हुन सक्छ ।
सर्वोच्च अदालतले परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ । सरकारको यो ढिलासुस्तीको कारण के हो जस्तो लाग्छ ?
लघुवित्त, सहकारी र मिटरब्याज पीडितको यो समस्यालाई राष्ट्र बैंकले अलि गम्भीरतापूर्वक हेर्नुपर्ने हो । मिटरब्याज पीडितको समस्या पनि चार–पाँच वर्षदेखि दोहोरिइरहेको छ । निक्षेप परिचालन र ऋण प्रवाहमा राष्ट्र बैंकको स्वीकृति चाहिने गरी ऐनले नै व्यवस्था गरेको छ, त्यसैले यसको समग्र निगरानी, नीति निर्माण र सरकारलाई सुझाव दिने जिम्मेवारी राष्ट्र बैंकको हो, जसका लागि नयाँ संस्थागत तथा कार्यक्रमगत व्यवस्था हुनुपर्छ ।
पहिले–पहिले राष्ट्र बैंकले ग्रामीण कर्जा सर्वेक्षण गर्ने र त्यसकै आधारमा नयाँ नीति तथा संस्थागत व्यवस्था ल्याउने परिपाटी थियो । तर विगत २०–२५ वर्षदेखि यस्तो अध्ययन–अनुसन्धान नै भइरहेको छैन । हालैका मौद्रिक तथा अन्य नीतिहरू गरिब वा निम्न वर्गमैत्री भएनन् भन्ने गुनासो व्याप्त छ । यसैले वित्तीय क्षेत्रको संरचना नै परिवर्तन नगरी अधिक तरलताको असमान वितरणको समस्या समाधान हुँदैन जस्तो लाग्छ । यसमा धेरै ढिलो भइसकेको छ ।
देश सङ्घीयतामा गएको १० वर्षभन्दा बढी भइसक्यो । २०७२ सालको संविधानपछि तीन तहका सरकार बने र केन्द्रले प्रदेश तथा पालिकालाई ठूलो मात्रामा वित्तीय हस्तान्तरण गर्दै खर्च गर्ने अधिकार दियो । तर राष्ट्र बैंकको दायराभित्र रहेको बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा भने त्यही अनुरूपको पुनर्संरचना हुन सकेको छैन । राजनीतिक तहमा भएको वित्तीय सङ्घीयता र वित्तीय क्षेत्रको संरचनाबीच तालमेल मिलेको छैन । जो–जो यससित जोडिन सके, तिनले लाभ, पद–प्रतिष्ठा र राजनीतिक नियुक्ति समेत पाए, तर जोडिन नसकेका र स्रोतमाथिको पहुँच नपाएकाहरूको अवस्था हेर्ने निकाय राष्ट्र बैंक नै हो । यही समन्वयको अभावले नै अहिलेको जस्तो उकुसमुकुसको वातावरण बनेको जस्तो लाग्छ ।
त्यसैले प्रादेशिक विकास बैंक वा स्थानीय विकास बैंक जस्ता अवधारणामा नेपाल जानुपर्छ । राष्ट्र बैंकलाई यस्ता लाइसेन्स दिनबाट कसैले रोकेको छैन । सरकारसित समन्वय गरी राष्ट्र बैंकले पहलकदमी लिएर रेमिट्यान्सबाट आएको पैसालाई त्यहीँ निक्षेप परिचालन गरी त्यहीँ कार्यक्षेत्रमा ऋण प्रवाह गर्न सक्ने नयाँ किसिमका वित्तीय संस्थाहरू खडा गरे लघुवित्त र मिटरब्याज पीडितको समस्या एक हदसम्म समाधान हुन सक्छ । जेल हाल्ने वा दण्ड–जरिबाना गर्ने कुरा आफ्नै ठाउँमा छ, तर त्यसले सबै समस्या समाधान गर्दैन । आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउने रणनीति अवलम्बन गर्नमा नै राष्ट्र बैंकको भूमिका अहम् हुन्छ ।
सरकारले राजस्व सङ्कलन गरेर पूर्वाधार, सडक, बिजुली, पानी, शिक्षा र स्वास्थ्यमा खर्च गर्छ, तर कर्जामाथिको वित्तीय पहुँचको चाँजोपाँजो मिलाउने काम राष्ट्र बैंककै हो । अनुचित ढंगले ब्याज लिएर शोषण गरेको भए सरकारले प्रहरी लगाएर कारबाही गर्न सक्छ, अपराध दर्ता गर्न सक्छ, त्योभन्दा बढी गर्न सक्दैन । त्यसैले को के प्रति उत्तरदायी बन्नुपर्छ भन्ने प्रश्न नउठाई छलफल गर्दा दिगो समाधान निस्कँदैन जस्तो लाग्छ ।
पीडितहरूले उठाएकामध्ये तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग के के हुन् ?
समग्रमा भन्नुपर्दा, दीर्घकालका लागि नयाँ संस्थागत व्यवस्था निर्माण गरेर र वाणिज्य बैंकमा रहेको तरलतालाई ग्रामीण क्षेत्रतर्फ बढी प्रवाहित हुने प्रबन्ध मिलाएर मात्र यो समस्याको स्थायी हल सम्भव छ । यसले अल्पकालमा तत्काल राहत नदेला, तर मध्यकाल र दीर्घकालमा, अर्थात् तीन–चार वर्षपछि यसको सकारात्मक परिणाम देखिन्छ ।
अल्पकालमा भने पीडितहरूको तत्कालीन पीडा सम्बोधन गर्न सरकारको वित्तीय हैसियत सीमित छ । ऋण मिनाहा दिनका लागि सरकारले राजस्व वा दातृ स्रोतबाट सम्बन्धित वित्तीय संस्थालाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ । तर विगत चार–पाँच वर्षदेखि सरकारले लक्ष्यअनुसारको राजस्व नै परिचालन गर्न सकेको छैन । राजस्व अपुग हुँदा पुँजीगत खर्च, सडक, सिँचाइ जस्ता आयोजना अधुरै रहिरहेका छन्, बजेट विनियोजन भए पनि निकासा हुन सकेको छैन । सरकारी कर्मचारीको तलब र ऋण भुक्तानी नै धौ–धौ भइरहेको अवस्थामा ऋण मिनाहा दिने वित्तीय हैसियत सरकारसँग छ जस्तो लाग्दैन । पुँजीगत खर्च गर्न नसक्नु, राजस्व परिचालन कमजोर हुनु, समयमा ठेक्कापट्टा नहुनु र परियोजना अधुरा रहनुले नै आर्थिक वृद्धि न्यून रहेको र त्यसैले नागरिकका आर्थिक समस्या समाधान गर्ने वित्तीय क्षमता पनि सीमित रहेको देखिन्छ ।
यो विवाद समाधान गर्ने उपाय के हो त ?
लघुवित्तको ब्याजदर वाणिज्य बैंकको भन्दा किन यति धेरै उच्च छ, र वाणिज्य बैंकभन्दा दुई–तीन प्रतिशतमात्रै माथिको दरमा किन ऋण दिन सकिँदैन भन्ने प्रश्न सरकारले सम्बन्धित निकायलाई सोध्नुपर्छ र समाधानको चाँजोपाँजो मिलाउनुपर्छ ।
साथै लघुवित्त वित्तीय संस्थाहरू सामाजिक उद्देश्यका लागि सञ्चालित हुन् कि विशुद्ध व्यापारिक नाफाकै पछाडि दौडिरहेका हुन् भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । यदि व्यावसायिकता बैंकिङको उद्देश्य नै हावी छ र सामाजिक बैंकिङ न्यून छ भने ती संस्थाहरू उच्च ब्याजदरमै रमाइरहने अवस्था बन्छ ।
त्यसैले उनीहरूको सामाजिक उद्देश्य र आर्थिक टिकाउपन बीच सन्तुलन ल्याउने, ताकि उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण नहोस् र संस्थाहरू पनि जीवित रही वित्तीय पहुँच विस्तारमा योगदान दिइरहून् भन्ने सन्तुलनकारी भूमिका सरकारले खेल्नुपर्छ ।