नेभिगेशन

२३ औँ राष्ट्रिय धान दिवस मनाइँदै : झण्डै १० लाख मेट्रिकटन धान अपुग

काठमाण्डौ — ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आज २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कृषि विभागका महानिर्देशक तथा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रकाशकुमार सन्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवद्र्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पु¥याउन सहयोग पुग्नेछ ।

विभागका अनुसार नेपालमा ४१ लाख ३१ हजार किसान घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानको झण्डै १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।

पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिकटनबाट बढेर ४.१९ मेट्रिकटन पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको विभागले जनाएको छ ।

यद्यपि, वार्षिक झण्डै ७० लाख मेट्रिकटन धान आवश्यक पर्ने भएकाले हाल झण्डै १० लाख मेट्रिकटन धान अपुग रहेको छ । जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढी तथा डुबानजस्ता प्राकृतिक विपद्ले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । 

प्रकाशित मिति:
थप समाज