नेभिगेशन

नेपाल कृषि महासङ्घको १२औँ साधारणसभा नयाँ नेतृत्व चयन गरी सम्पन्न

काठमाण्डाै – नेपालको कृषि तथा पशुपछी क्षेत्रका १२ वटा संस्थाहरूको छाता संस्था नेपाल कृषि महासङ्घको १२औँ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

वरिष्ठ कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानले साधारणसभाको उद्घाटन गर्दै समयक्रममा नेपालले केही कृषि उपज आयात गर्नुपरे पनि केही उपजमा आत्मनिर्भर र केहीमा निर्यात गरिरहेको भन्दै आउँदा दिनमा निर्यातलाई विस्तार गर्न अझै धेरै काम गर्न सकिने सम्भावना रहेको बताउनुभयो । नेपाली भेडाहरूको ऊन खुर्कने र प्रशोधन गर्ने नयाँ प्रविधिको प्रयोग, नेपाली महको ब्रान्डिङ, केसर खेती, कस्तुरी पालनजस्ता नेपाली वस्तुबाट रोजगारी र आम्दानी बढाउन सकिने तथा खाद्यान्न आयातबाट हुने व्यापार घाटालाई कम गरी देशको आर्थिक उन्नति हुने कुरामा उहाँले जोड दिनुभयो ।

साधारणसभामा महासङ्घका सचिव हिक्मतकुमार श्रेष्ठले वार्षिक कार्यप्रगति एवम् कोषाध्यक्ष प्रज्ञा श्रेष्ठले महासङ्घको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका १० वर्षे उपलब्धिसम्बन्धी विशेष प्रस्तुति पनि रहेकाे थियो ।

कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले नेपालमा कृषिका योजना तर्जुमा र तिनको कार्यान्वयनमा गम्भीरतापूर्वक लाग्ने हो भने कृषिको विकास तीव्र गतिमा हुने धारणा राख्नुभयो । महासङ्घले आफ्ना विज्ञहरूको सहयोगमा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा कृषि विकासका कार्यहरू सञ्चालन गर्न राम्रो हुने सल्लाह पनि उहाँले दिनुभयो ।

पूर्वसचिव एवम् महासङ्घका सल्लाहकार गणेशकुमार केसीले महासङ्घको स्थापना र विकासक्रमको चर्चा गर्नुभयो । पूर्वसचिव ब्रजकिशोरप्रसाद शाहले महासङ्घले कृषिकर्मीको भलाइ र क्षमता अभिवृद्धिका लागि पनि काम गर्नुपर्ने सुझाव दिनुभयो ।

साधारणसभाले शिवसुन्दर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटीको चयन गरेको छ । कमिटीकाे उपाध्यक्षमा मोहनबहादुर थापा, महासचिवमा डा. कालिकाप्रसाद उपाध्याय, सचिवमा हिक्मतकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ र सदस्यहरूमा डा. योगेन्द्रकुमार कार्की, कृष्णकुमार श्रेष्ठ, देवकी श्रेष्ठ, डा. सावित्री बराल, रामप्रसाद पुलामी, देवेन्द्रप्रसाद यादव, डा. भवप्रसाद त्रिपाठी, सरोजकान्त अधिकारी, प्रमोद रिजाल, सञ्जय धिमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति:
थप समाज