नेभिगेशन

कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन

काठमाण्डौ — दैलेखमा हिजो गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ । भीरमा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लू अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन ।

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोलीले गाडीको खोजबीन गरिरहेको छ ।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोज उद्धारकाे काम थाल्ने उहाँले बताउनुभयो ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाडीमा पाँच जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला   प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रकाशित मिति:
थप समाज