नेभिगेशन

विश्वकप फुटबल : साविक विजेता अर्जेन्टिना र केब भर्डेबीचको खेल अतिरिक्त समयमा धकेलियो

फिफा विश्वकप फुटबलको नकआउट चरणमा साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केब भर्डेबीचको खेल चलिरहेको छ । अमेरिकाको मियामी रङ्गशालामा भैरहेको खेलमा निर्धारित समयको खेल एक/एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

निर्धारित समयको पहिलो हाफमा २९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । उसका रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गरे । त्यसपछि निर्धारित समयको खेल बराबरीमा सकिएको हो ।

अर्जेन्टिना समूह ‘जे’ को विजेता र केब भर्डे समूह ‘एच’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भैरहेको छ ।

पहिलो पटक विश्वकप खेलिरहेको केब भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो । स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर केब भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए ।

यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले आजको एकसहित ७ गोल गरिसकेका छन् । विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान सवा ७ बजे कोलम्बिया र घाना खेल्दैछन् ।

यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुनेछ । यसअघि गएराति भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६