नेभिगेशन

जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञ हरूको दाबी

काठमाण्डौ - जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरोकारवालाहरूले बताएका छन् ।

‘जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमाकुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनुभयो । सामान्यतया साढे दुई किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले डेढदेखि दुई किलोसम्म मात्र हुने गरेको र सात महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

यसका साथै बालबालिकामा छालारोग, सङ्क्रमण र क्यान्सरजस्ता जोखिमसमेत बढेको उहाँले चेतावनी दिनुभयो । रिजालले गाडीको धुवाँ, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो । विषादीको अत्यधिक प्रयोगले ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’को समस्या निम्त्याई भविष्यमा औषधिले काम नगर्ने जोखिम बढेको उहाँको चेतावनी छ ।

वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढाइरहेको उहाँले बताउनुभयो । रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड दिनुभयो ।  

 

प्रकाशित मिति:
थप समाज