नेभिगेशन

बाढीले क्षति गरेका संरचना मर्मतपछि रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा

काठमाण्डौ - गएको वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत् आयोजनाको ७४ मेगावाट विद्युत पुनः राष्ट्रिय प्रशारणमा जोडिएको छ । 

१११ मेगावाट क्षमताको आयोजनाको मर्मतपछि ७४ मेगावाट उत्पादन पुनः सुरु भएको हो । आयोजनाका अनुसार राष्ट्रिय विद्युत् प्रणालीको मागअनुसार अहिलेलाई ७४ मेगावाट विद्युत् मात्र उत्पादन गरिएको हो । 

नेपाल–चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालका महत्त्वपूर्ण जलविद्युत् आयोजनामध्ये एक हो । गएको वर्षको बाढीले आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपरे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुगेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले बताउनुभयो । 

उहाँका अनुसार बाढीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत् गृहका उपकरणहरूको मर्मत, बालुवा थिग्राउने पोखरीको सफाइ तथा अवरोध हटाउने, हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न भइसकेका छन् । आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरक्षणका कामसमेत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । 

अब नदीको पानी नयाँ गेटमार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाइएकाले आयोजना १११ मेगावाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ । बाढीका कारण आयोजनामा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीको अनुमान छ । 

प्राविधिकहरूका अनुसार बाँध क्षेत्रबाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना कम छ ।  

प्रकाशित मिति:
थप समाज