नेभिगेशन
relief-to-bird flu-affected-farmers

बर्डफ्लु प्रभावित किसानलाई राहत उपलब्ध गराउने सरकारको तयारी

काठमाण्डौ - पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पक्षी तथा वस्तुको क्षतिपूर्तिस्वरूप ५२ करोड रुपैयाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।

विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पक्षी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।
विभागका प्रवक्ता मुकुल उपाध्यायले पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ ।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने छ । विभागका प्रवक्ता उपाध्यायले पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो ।
बर्डफ्लु सङ्क्रमणका कारण काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन् । अहिलेसम्म झन्डै सात लाख पक्षी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको तथा झन्डै ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ । 

प्रकाशित मिति:
थप अर्थ