नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

मोरङको केरौन १३२ केभी सबस्टेशन निर्माण सम्पन्न

काठमाण्डाै – मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेशन निर्माण सम्पन्न भएको छ । सबस्टेशनलाई आउँदो शनिवार र आइतवार चार्ज गर्ने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्यस दिन पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेशनमा लाइनलाई लुप इन र लुप आउटको काम गरिने छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेशनमा विद्युत् आपूर्ति हुने छ ।

दुहबी–दमक प्रसारण लाइनलाई शनिवार र आइतवार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिने छ । प्राधिकरणका अनुसार त्यस समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङका सम्पूर्ण भाग तथा मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले केरौन सबस्टेशन सञ्चालनमा आएपछि मोरङको विद्युत् आपूर्ति सुरक्षित, भरपर्दो हुने र प्राविधिक चुहावट घट्ने बताउनुभयो ।

अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट बढी रहेको र उपभोक्ताले छिनछिनमा लाइन जाने (ट्रिपिङ) को समस्या भोगिरहेका उहाँले उल्लेख गर्नुभयो ।

अहिले त्यस क्षेत्रका लागि दुहबी–रानी–रङ्गेली ३३ केभी झन्डै ५० किलोमिटर लामो लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो ।

आयोजना निर्माणका लागि विसं २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत झन्डै १ अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एशियाली विकास बैंक (एडीबी)को सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

प्रकाशित मिति:
थप अर्थ