काठमाण्डौ - टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन् । दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले थ्रीजी सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन् ।
एनसेलले गएको सोमबारदेखि पाँच वटा प्रदेशका १३ जिल्लाका विभिन्न पालिकामा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिसकेको जनाएको छ । कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकामा थ्रीजी सेवा बन्द गरिसकेको छ । एनसेलका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धताअनुरूप थ्रीजी सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिइएको हो ।
थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टूजीका साथै फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ । नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष २०८३–८४ मा थ्रीजी सेवालाई पूर्णरुपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ । टेलिकमका अनुसार थ्रीजी सेवा प्रवाह गरिरहेका तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केही हटाउन शुरु भइसकेको छ ।
थ्रीजी सेवा हटेपछि ग्राहकहरू फोरजी सेवामा जान सक्ने भ्वाइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुने टेलिकमले जनाएको छ । डेटा र भ्वाइस दुवैका लागि हो भने ग्राहक फोरजीको भोल्टे सेवामा जान सक्ने तथा यसले डेटा र भ्वाइस दुवैको गुणस्तर बढाउने टेलिकमको भनाइ छ ।
थ्रीजी नेटवर्कलाई क्रमशः फोरजीमा रूपान्तरण गरिने भएकाले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिममा परिवर्तन गर्न कम्पनीले आग्रह गरेको छ ।
सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र या अरु सरकारी परिचयपत्रसहित नजिकको नेपाल टेलिकम कार्यालयमा जान सकिने कम्पनीले जनाएको छ । एनसेलले पनि थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी नेटवर्कमा स्तरोन्नति गर्न तथा फोरजी चल्ने मोबाइलमा भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ ।
फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउँछ । डेटा र भ्वाइस सेवाको गुणस्तर पनि सीमित हुन्छ । त्यसैले टेलिकम सेवा प्रदायक कम्पनीहरू थ्रीजी त्यागेर फोरजी नेटवर्कमा केन्द्रित हुन लागेका हुन् ।