नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३

पीएचपीले विश्वव्यापी साइबर सुरक्षा खतरा बढाएपछि नियमनको प्रयास

काठमाण्डौ - विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विभिन्न देशका सरकारी कार्यालयसहित अन्य सेवाले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् ।

इन्टरनेटको मेरुदण्ड मानिने र विश्वका लाखौँ वेबसाइटहरू सञ्चालन गर्ने एक प्रविधिमा दशकौँदेखि लुकेर बसेका गम्भीर त्रुटिहरू फेला परेका हुन् । रोयटर्सका अनुसार ‘पीएचपी’ निःशुल्क प्रयोग गर्न पाइन्छ र यसको स्रोत कोड सबैका लागि खुला छ । जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, फिनल्यान्डलगायत देशका निकायले जोखिम कम गर्न अस्ति बुधबार नै आवश्यक कदम चालेका थिए ।

एआईको प्रयोगमार्फत यी कमजोरीहरू बाहिर आएपछि यसले अहिले विश्वभर ठूलो साइबर सुरक्षा खतरा उत्पन्न गराएको छ । यी कमजोरीहरू ‘पीएचपी’ नामक एक प्रोग्रामिङ भाषामा भेटिएका हुन् । जुन सन् २००० को दशकदेखि अन्तर्राष्ट्रिय स्तरमा वेबसाइटहरू निर्माण गर्न प्रयोग हुँदै आएको छ । पीएचपीमा कमजोरीपछि विश्वभरका सरकार र साइबर सुरक्षा निकायहरू यसको असर नियमन गर्न लागिपरेका छन् ।

साथै, उनीहरूले वेबसाइट सञ्चालकलाई तत्काल आपतकालीन अपडेट (प्याच) गर्न वा सम्भव भए प्लेटफर्मलाई अस्थायी रूपमा अफलाइन राख्न आग्रह गरेका छन् । समस्या पत्ता लगाउने अनुसन्धानकर्ता कम्पनी ‘विज’ ले यसलाई अहिलेसम्म एआईद्वारा पत्ता लगाइएकामध्ये सबैभन्दा गम्भीर सुरक्षा कमजोरीहरूको रूपमा वर्णन गरेको छ । यसैबीच नेपालका सरकारी वेबसाइटहरू हिजो बिहानैदेखि बन्द गरिएकोमा आज पनि बन्द छन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मौसमका निकायसहित पालिकाका वेबसाइटहरू खुलेका छैनन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

केन्द्रले वेबसाइट सञ्चालकहरूका लागि अत्यावश्यक साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो । केन्द्रका अनुसार वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी, अपाचे, पीएचपी–एफपीएम र लाइट स्पिडजस्ता प्रविधि तथा वर्डप्रेस, जोम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामग्री व्यवस्थापन प्रणालीमा सुरक्षा कमजोरी देखिएका छन् । साइबर जोखिम न्यूनीकरण गर्न केन्द्रले प्रयोगमा रहेका पीएचपी प्रणालीलाई तत्काल सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको छ ।

साइबर सुरक्षा विज्ञहरूले पनि वेबसाइट तथा अनलाइन प्रणालीको नियमित सुरक्षा परीक्षण, सफ्टवेयर अद्यावधिक, बलियो पहुँच नियन्त्रण र नियमित ब्याकअपलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

प्रकाशित मिति:
थप प्रविधि