नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

जीशान अली : चीनको अन्तरिक्ष स्टेशनमा जान लागेका पहिलो विदेशी अन्तरिक्षयात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले नेपाली समयअनुसार भोलि बिहान ६ बजेर ३ मिनेटमा प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्षयानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्षयात्री मुहम्मद जीशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो र वु यीसँगै अन्तरिक्ष यात्रा गर्नुहुनेछ । उनीहरूले उत्तर–पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् ।

पाकिस्तानी अन्तरिक्षयात्री अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नुहुनेछ । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उहाँ शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनुहुनेछ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बोले यसअघि दुई पटक अन्तरिक्ष यात्रा गरिसक्नुभएको छ । उहाँ तेस्रो पटक तियाङगोङ अन्तरिक्ष स्टेशन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने खबरमा उल्लेख छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

प्रकाशित मिति:
थप विश्व