नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको आन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति निराशा व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले जलवायु सङ्कटले माग गरेको गम्भीरतालाई आत्मसात् गर्दै सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका सबैको निराशाप्रति आफू सहमत रहेको बताउनुभएको छ ।

त्यसैगरी, विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

महासचिव गुटेरेसले सम्मेलनमा सहमति कायम हुन नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको बताउनुभएको छ । जलवायु सङ्कट सम्बोधनमा हुने ढिलाइले आउने हरेक चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने उहाँको भनाइ छ ।

विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको उल्लेख गर्दै उहाँले तापक्रम वृद्धिको निर्धारित सीमा नाघ्ने अवस्था सम्भव भएसम्म छोटो र न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिनुभएको छ ।

जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने तथा जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उहाँले लगाउनुभएको छ । 
 

प्रकाशित मिति:
थप विश्व