नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

चिनियाँ यान शेन्झाउ–२४ अन्तरिक्ष केन्द्रमा जोडियो

चीनले आज प्रक्षेपण गरेको शेन्झाउ–२४ मानवसहितको अन्तरिक्षयान तियाङगोङ अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिएको छ ।

बेइजिङ समयअनुसार आज बुधवार बिहान ११ बजेर ५६ मिनेट अर्थात् नेपाली समयअनुसार बिहान ९ बजेर ४१ मिनेटमा अन्तरिक्ष केन्द्रको तियानहे मोड्युलमा सफलतापूर्वक जोडिएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

यानलाई पृथ्वीबाट त्यहाँ पुग्न झन्डै साढे ३ घण्टा लागेको थियो । यान जोडिएसँगै यात्रीहरू अन्तरिक्ष केन्द्रमा प्रवेश गरी कार्यभार हस्तान्तरण तथा वैज्ञानिक अनुसन्धानको काम शुरू गर्ने प्रक्रियामा जुटेका छन् ।

आज गएको यानमा चिनियाँ यात्रीहरू ताङ होङ्बो र वु यीसँगै पाकिस्तानका मुहम्मद जीशान अली पनि सहभागी हुनुहुन्छ । अन्तरिक्षमा पुग्ने जिशान अली पहिलो पाकिस्तानी नागरिक बन्नुभएको छ भने चिनियाँ अन्तरिक्ष केन्द्रमा पुग्ने उहाँ पहिलो विदेशी यात्रीसमेत हुनुहुन्छ । उहाँले पेलोड विशेषज्ञका रूपमा झन्डै एक हप्ता अन्तरिक्षमा रहेर वैज्ञानिक प्रयोगहरू गर्नुहुनेछ ।

पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष अनुसन्धानमा तीव्र गतिमा फड्को मारिरहेको छ । आफ्नै स्थायी अन्तरिक्ष केन्द्रको सफल सञ्चालनपछि चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने र त्यहाँ स्थायी अनुसन्धान आधार शिविर निर्माण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ ।

अन्तरिक्ष प्रविधिमा चीनको यो निरन्तरको प्रगति र अन्तर्राष्ट्रिय सहकार्यले विश्व अन्तरिक्ष विज्ञानमा नयाँ आयाम थपेको छ ।

प्रकाशित मिति:
थप विश्व