नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

२ वटा डाटाबेस चुहावटबाट साढे ३ अर्बभन्दा धेरै विवरण सार्वजनिक

प्रयोगकर्ताका नाम, पासवर्ड, राष्ट्रिय परिचय नम्बर र व्यक्तिगत कागजातहरूलगायत साढे ३ अर्बभन्दा धेरै विवरणहरू समेटिएका दुई वटा असुरक्षित डाटाबेसहरू अनलाइनमा सार्वजनिक भएका छन् । यसले विश्वव्यापी साइबर सुरक्षाका सम्बन्धमा नयाँ चिन्ता खडा गरेको छ ।

दुई जना सुरक्षा अनुसन्धानकर्ताहरूले छुट्टाछुट्टै ती डाटाबेसहरू फेला पारेका र प्रमाणीकरणविना नै तिनमा पहुँच प्राप्त गरेका भारतीय पत्रिका ‘मिन्ट’ ले जनाएको छ ।

हिजो मङ्गलवार नोभेम्बर २५ मा प्रकाशित ‘वायर्ड’ को प्रतिवेदनअनुसार यी तथ्याङ्कहरूले दर्जनौँ देशका व्यक्ति तथा समूहहरूलाई समेट्छन् र एउटा डाटाबेसमा चीनसँग सम्बन्धित एक अर्बभन्दा धेरै रेकर्डहरू रहेका छन् ।

साइबर अपराधीहरूले यस्तो जानकारीको प्रयोग अनलाइन खाताहरू कब्जा गर्न, प्रयोगकर्ताको नक्कली पहिचान खडा गर्न र आर्थिक ठगी गर्न सक्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार चुहावट भएको तथ्याङ्कमा पीडितहरूको विस्तृत विवरण समावेश छ जसले अपराधीहरूलाई विभिन्न प्रकारका व्यक्तिगत जानकारीसम्म पहुँच पुर्‍याउन सक्छ । यद्यपि यो ३ अर्ब ५० करोडको सङ्ख्याले व्यक्तिहरूको सङ्ख्यालाई नभई विभिन्न ‘रेकर्ड’ हरूलाई जनाउँछ जसमा एउटै व्यक्तिका धेरै वा दोहोरिएका विवरण पनि समावेश हुन सक्छन् ।

ब्ल्याक हिल्स इन्फर्मेसन सेक्युरिटीका जेरेमिया फाउलरले पहिलो डाटाबेस पत्ता लगाएका हुन् । यसमा झन्डै २ अर्ब लगइन रेकर्डहरू थिए जसमा इमेल ठेगाना, प्रयोगकर्ता नाम, पासवर्ड, कुकीलगायत जानकारी समावेश छन् ।

दोस्रो डाटाबेस साइबर सुरक्षा कम्पनी ’अपगार्ड’ का अनुसन्धान निर्देशक ग्रेग पोलकले फेला पारेका हुन् । उनको अनुसन्धानले झन्डै  १ अर्ब ६४ करोड रेकर्डहरू पत्ता लगाएको छ जसमध्ये धेरैजसो चिनियाँ नागरिक र उद्यमहरूसँग सम्बन्धित छन् ।

प्रकाशित मिति:
थप विश्व