नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी

काठमाण्डौ – प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी देखिएको छ ।

दैनिक सेवन गरिने डाराक्सोनरासिब नामक औषधि केमोथेरापीसँगै प्रयोग गर्दा केही बिरामीको ट्युमर पूर्ण रूपमा हटेको तथा आकार घटेको प्रारम्भिक अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

बेलायतको क्यान्सर रिसर्चका विज्ञहरूले नयाँ औषधिको नतिजालाई उत्साहजनक भनेका छन् । यो औषधिले क्यान्सरको वृद्धि गराउने केआरएएस नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरी काम गरेको पाइएको छ ।

तर, डाक्टरले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने बताएका छन् । औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ र बिरामीको आयु कति बढाउन सक्छ भन्नेबारे थप अध्ययन आवश्यक रहेकोमा उनीहरूको जोड छ ।

चिकित्सकीय परीक्षणमा शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाटिक क्यान्सर भएका ६१ जना बिरामी सहभागी थिए । उनीहरूलाई नयाँ औषधिसँगै केमोथेरापी दिइएको थियो । परीक्षणमा ९० प्रतिशत बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको पाइएको छ । ६० प्रतिशतभन्दा धेरै बिरामीमा ट्युमरको आकार घटेको वा हराएको देखिएको छ ।

त्यस्तै, १२ जनामध्ये एक जनाको ट्युमर सिटी स्क्यानमा समेत देखिन छाडेको थियो । विशेषज्ञहरूले यसलाई प्यान्क्रियाटिक क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

प्यान्क्रियाटिक क्यान्सर उपचार गर्न कठिन हुने गरेको र यसको पहिचान प्रायः ढिलो हुने अनि रोग फैलिसकेपछि उपचारको प्रभावकारिता कम हुने गरेकोले बिरामीको बाँच्ने सम्भावना न्यून हुने गरेको छ । यस्तो अवस्थामा नयाँ औषधिको प्रारम्भिक नतिजाले उपचारमा नयाँ सम्भावना देखाएको छ ।

प्रकाशित मिति:
थप विश्व