नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

एलन मस्कको कम्पनी स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति

अमेरिकी नियामकहरूले अर्बपति प्रविधि उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाख स्याटेलाइटहरू प्रक्षेपण गर्न अनुमति दिएका छन् ।

अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) हिजो बुधवार यो परियोजनालाई अनुमोदन गरेको हो । यस परियोजनालाई ‘स्टारमाइन्ड’ नाम दिइएको छ ।

स्पेसएक्सले अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ । यस्तो परियोजना स्वीकृत भएको यो पहिलो पटक हो ।

स्पेसएक्सले यी स्याटेलाइटहरूलाई सूर्यको प्रकाशबाट प्राप्त ऊर्जा प्रयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ । उपग्रहहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसँग सम्बन्धित तथ्याङ्क प्रशोधन गर्ने र त्यसको नतिजा पृथ्वीमा पठाउने बीबीसीले जनाएको छ ।

अमेरिकाका धेरै भागहरूमा स्थानीयबासिन्दाले डेटा सेन्टर विस्तारको विरोध गरिरहेका समयमा यो परियोजना स्वीकृत भएको हो ।

अन्तरिक्षमा निर्माण गरिएका डाटा सेन्टरहरू कम्प्युटिङसम्बन्धी बढ्दो आवश्यकताहरू पूरा गर्नका लागि लागत–प्रभावी विकल्प साबित हुनसक्ने स्पेसएक्सको विश्वास छ ।

कम्पनीका अनुसार भविष्यका कम्प्युटिङ आवश्यकताहरू पूरा गर्न पृथ्वीमा अहिले उपलब्ध स्रोतहरू पर्याप्त नहुन सक्छन् ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यस निर्णयलाई अमेरिकाको प्राविधिक तथा आर्थिक नेतृत्वका लागि महत्त्वपूर्ण भनेर वर्णन गर्नुभएको छ । उहाँले यो परियोजनाले राष्ट्रको कम्प्युटिङ पूर्वाधारका लागि नयाँ दिशा खोल्ने बताउनुभएको छ ।

प्रकाशित मिति:
थप विश्व