नेभिगेशन

इतिहासकै रोमाञ्चक ‘गोल्डेन बुट’ दौड : कसले जित्ला ?

काठमाण्डाै – २३औँ संस्करणको फिफा विश्वकप फुटबलमा गोल्डेन बुटको प्रतिस्पर्धा इतिहासकै सबैभन्दा रोमाञ्चक बनेको छ ।

गोल्डेन बुटका लागि यस पटक अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका एर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका ह्यारी केनबीच प्रतिस्पर्धा भइरहेको छ ।

सामान्यतया विश्वकपमा एक खेलाडीले सहजै गोल्डेन बुट जित्ने गरेको इतिहास छ । सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजे र २०१० मा जर्मनीकै थोमस मुलरले ५ गोलमै गोल्डेन बुट जितेका थिए । तर यस पटक प्रतिस्पर्धा रोमाञ्चक बनेको छ ।

अहिले मेसी ८ गोलसहित शीर्ष स्थानमा छन् । यस्तै फ्रान्सका एमबाप्पे र नर्वेका हालान्डले समान ७ गोल गरेका छन् भने इङ्ग्ल्यान्डका केनले गोल सङ्ख्या ६ पुर्‍याएका छन् ।

४ वटै खेलाडीको टोली क्वाटरफाइनलमा पुगेको हुँदा गोल सङ्ख्या अझै बढ्नेछ । आज रातिदेखि क्वाटरफाइनलका खेल शुरू हुँदैछन् ।

विश्वकपको इतिहासमा यसअघि ८ जना खेलाडीले मात्र एउटै संस्करणमा ८ वा त्योभन्दा धेरै गोल गरेका थिए । यो सूचीमा मेसी परिसकेका छन् भने एमबाप्पे, हालान्ड र केन पनि नजिकै छन् ।

यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टेनको नाममा छ । सन् १९५८ को विश्वकपमा उनले ६ वटा खेलमा १३ गोल गरेका थिए ।

गोल्डेन बुट सबैभन्दा धेरै गोल गर्ने खेलाडीले जित्छन् । यदि गोल बराबर भए सबैभन्दा धेरै असिस्ट हेरिन्छ । गोल र असिस्ट दुवै बराबर भए कम समय मैदानमा बिताउने खेलाडीलाई गोल्डेन बुट दिइन्छ ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६