काठमाण्डाै – एक महिनादेखि विश्वभरका करोडौँ फुटबल समर्थकहरूले उत्सवका रूपमा लिइरहेका फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ । समूह चरणदेखि नकआउटसम्म अनपेक्षित नतिजा, नाटकीय पुनरागमन, अतिरिक्त समयका निर्णायक गोल र उत्कृष्ट प्रदर्शनले प्रतियाेगितालाई राेमाञ्चक बनायाे ।
अब उपाधि होड चार शक्तिराष्ट्रहरू अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ग्ल्यान्डमा सीमित भएको छ । सेमिफाइनलमा पूर्वविजेता टोलीहरूबीच कडा टक्कर हुने भएको छ । पर्सि मङ्गलवार राति पौने १ बजे पहिलो सेमिफाइनलमा पूर्वविजेता स्पेन र साविक उपविजेता फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दाेस्राे सेमिफाइनलमा बुधवार राति पौने १ बजे इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । अर्जेन्टिनाका लियोनल मेसीको सम्भावित अन्तिम विश्वकप र सन् १९६६ पछि दोस्रो विश्वकप जित्ने दौडमा रहेको इङ्ग्ल्यान्डका कारण यो खेल रोमाञ्चक बन्ने देखिन्छ ।
यी टाेली फिफा वरीयताका शीर्ष चार टाेली भएकाले यस पटकको सेमिफाइनललाई पछिल्ला धेरै वर्षयताकै प्रतिस्पर्धात्मक मानिएको छ । पहिलाे पटक फिफा वरीयताका शीर्ष चार टोली विश्वकपको सेमिफाइनलमा पुगेका हुन् ।
यसअघि अर्जेन्टिनाले तीन पटक (१९७८, १९८६, २०२२), फ्रान्सले दुई पटक (१९१८, २०१८) तथा स्पेन (२०१०) र इङ्ग्ल्यान्ड (१९६६) ले एक–एक पटक उपाधि जितेका छन् ।
यस संस्करणको विश्वकप शुरूदेखि नै कुनै पनि टोलीका लागि सहज रहेन । समूह चरणमै दक्षिण कोरिया, उरुग्वे, इरान, टर्किए, ट्युनिसिया, साउदी अरेबिया, उज्वेकिस्तान, जोर्डन, कतार र स्कटल्यान्डजस्ता टोली बाहिरिए । कतिपय टोलीले उत्कृष्ट खेल खेले पनि अङ्क र गोल अन्तरका कारण यात्रा विश्वकप यात्रा टुङ्ग्याउनुपर्याे ।
नकआउट चरण झन् रोमाञ्चक रह्यो । चार पटकको विश्वविजेता जर्मनी, उपाधिको दाबेदार नेदरल्यान्ड्ससहित क्रोएशिया, जापान, सेनेगल, अस्ट्रेलिया र घानाजस्ता टोली अपेक्षाभन्दा चाँडै बाहिरिए । ब्राजिल, पोर्चुगल, अमेरिका, मेक्सिको, क्यानडा, कोलम्बिया, पाराग्वे र इजिप्ट अन्तिम १६ बाट बाहिरिए । क्वार्टरफाइनलमा मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डको यात्रा पनि समाप्त भयो ।
यस विश्वकपमा चर्चित खेलाडीहरूले उपाधिको सपना पूरा गर्न सकेनन् । यस पटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार, बेल्जियमका केभिन डी ब्रुइन र रोमेलु लुकाकु, क्रोएशियाका लुका मोड्रिच, मेक्सिकोका गिलेर्माे ओचोआ, जर्मनीका म्यानुएल नोयरजस्ता खेलाडीहरू बाहिइिरसकेका छन् ।
यस पटकको विश्वकपमा व्यक्तिगत प्रदर्शन पनि निकै प्रतिस्पर्धात्मक छ । फ्रान्सका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ताको दौडमा अग्रस्थानमा छन् । गोल सङ्ख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग ८/८ बराबरी भए पनि असिस्टका आधारमा एमबाप्पे अगाडि छन् । यस्तै नर्वेका एर्लिङ हालान्ड ७ गाेल गरेर बाहिरिएपछि इङ्ग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्गघम समान ६ गाेलसहित गोल्डेन बुटको दौडमा देखिएका छन् । सेमिफाइनल र फाइनलमा हुने प्रदर्शनले गोल्डेन बुट पुरस्कारको टुङ्गो लगाउनेछ ।
अर्जेन्टिनासँग यसअघिको उपाध जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ । फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्डको गोल गर्ने पङ्क्ति छ । स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ । इङ्ग्ल्यान्डले युवा प्रतिभा र अनुभवी खेलाडीको उत्कृष्ट संयोजनमार्फत दशकौँदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने सङ्केत दिएको छ ।
यस पटकको फिफा विश्वकप अघिल्लो संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक रह्यो । कतारमा भएको सन् २०२२ को विश्वकपमा ३२ टोलीबीच ६४ खेल आयोजना भएको थियो । यसपालि भने पहिलो पटक ४८ टोली सहभागी हुँदा खेल सङ्ख्या बढेर १०४ पुगेको छ । यस कारण धेरै नयाँ देशहरूले विश्वकप खेल्ने अवसर प्राप्त गरे ।
यस संस्करणको अर्को विशेषता भनेको पहिलो पटक तीन वटा देश – अमेरिका, क्यानडा र मेक्सिको – ले प्रतियोगिता आयोजना गर्नु हो । यसले प्रतियोगिताको भौगोलिक दायरा विस्तार गरे पनि टोली, अधिकारी तथा समर्थकहरूले लामो दूरीको यात्रा गर्नुपरेको र त्यसले लागत तथा व्यवस्थापनमा चुनौती थपेको देखियो ।
प्रतियोगितामा सेमी–अटोमेटेड अफसाइड प्रणाली, एआई सहयोगी रेफ्रिङ, स्मार्ट बल तथा रेफ्री क्यामेराजस्ता आधुनिक प्रविधिको प्रयोग भएको छ । यी प्रविधिले निर्णयलाई अझ छिटो, पारदर्शी र सटीक बनाउने उद्देश्य राखेका छन् ।
यद्यपि विश्वकपसँग केही चुनौती र विवाद पनि जोडिए । अमेरिकाका केही शहरमा अत्यधिक तापक्रमका कारण खेलाडीको स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रत्येक हाफमा अनिवार्य ‘हाइड्रेशन ब्रेक’ लागू गरियो । त्यस्तै टिकट, होटल तथा यातायातको अत्यधिक खर्चका कारण धेरै समर्थकहरूले यो विश्वकप अहिलेसम्मकै महँगो भएको टिप्पणी गरेका छन् ।
अमेरिका–इरान सम्बन्धमा देखिएको राजनीतिक तनावका कारण सुरक्षा, यात्रा तथा भिसा प्रक्रियाबारे पनि विभिन्न बहस भए । केही समर्थक, पत्रकार तथा फुटबल अधिकारीहरूले अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ भएको अनुभव सार्वजनिक गरेका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व, केही रेफ्रीका निर्णय तथा प्रतियोगिताको व्यवस्थापनबारे पनि आलोचना भयो । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफामाथि आफ्नै खेलाडीको प्रतिबन्ध फुकुवामा दबाव दिएको आरोप पनि लाग्यो । यसले फिफाको विश्वसनीयतामाथि नै प्रश्न उठ्यो ।
४८ टोली, तीन आयोजक देश र लामो हवाई यात्राका कारण यस संस्करणको कार्बन उत्सर्जन अघिल्ला विश्वकपहरूको तुलनामा धेरै हुन सक्ने भन्दै वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
समग्रमा सन् २०२६ को विश्वकपले सहभागी देशहरूको सङ्ख्या, आधुनिक प्रविधिको प्रयोग र विश्वव्यापी पहुँचका दृष्टिले नयाँ इतिहास रचेको छ । तर बढ्दो खर्च, यात्रा व्यवस्थापन, वातावरणीय प्रभाव तथा केही व्यवस्थापकीय विवादले भविष्यका विश्वकपका लागि सुधार गर्नुपर्ने पक्षहरू पनि स्पष्ट रूपमा देखाएको छ ।
२६औँ संस्करणकाे फिफा विश्वकपको फाइनल खेल साउन ३ गते आइतवार राति पौने १ बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ ।