नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

भारतीय वैज्ञानिकले तयार गरे मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा

भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ‘ब्रेनस्टेम’ को अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रि–आयामिक नक्सा तयार पारेका छन् । मद्रासमा रहेको सुधा गोपालकृष्णन ब्रेन सेन्टरका वैज्ञानिकहरूले ‘एन्कर’ नामको यो नक्सा कोषीय स्तरसम्मै पुर्‍याएका हुन् ।

५०० भन्दा धेरै तन्तु नमूनाका आधारमा तयार यो नक्सामा २०० भन्दा धेरै स्नायु–कोष समूह र स्नायु मार्गहरू पहिचान गरिएको छ । यसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा–एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ । ब्रेनस्टेमले सास फेर्ने, मुटु धड्कने, निद्रा र चेतनालाई नियन्त्रण गर्छ । यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो ।

विज्ञहरूका अनुसार यो नक्साले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्स लगायतका स्नायुसम्बन्धी रोगहरू बुझ्न मद्दत गर्नेछ । साथै शल्यचिकित्सकहरूलाई ब्रेनस्टेममा शल्यक्रिया गर्दा थप सुरक्षित बनाउन पनि यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

झन्डै २० जना वैज्ञानिकले १८ महिनासम्म यो अनुसन्धानमा काम गरेका थिए भने अहिले २०० जनाभन्दा धेरै अनुसन्धानकर्ता र प्राविधिक यस केन्द्रसँग जोडिएका छन् ।

केन्द्रले आउँदा दिनमा थप १०० मस्तिष्कको अध्ययन गर्ने योजना बनाएको छ । यो नक्सा विज्ञानहरूका लागि अनलाइनमा निःशुल्क उपलब्ध गराइएको छ ।

प्रकाशित मिति:
थप प्रविधि