नेभिगेशन

होटल सङ्घका पदाधिकारी र प्रधानमन्त्रीबीच भेटवार्ता, ढुक्क भएर लगानी गर्न आग्रह

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाह र होटल सङ्घ नेपाल (हान) का पदाधिकारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रूत गतिमा काम भइरहेको भन्दै चिन्ता नगर्न र लगानी बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका छन् ।

अहिले वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायीहरूले पर्यटक आगमन बढेमा आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने जानकारी गराएका छन् ।

देशलाई आरोग्य पर्यटन, ‘विवाह गन्तव्य’ र सीमापार पर्यटनका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको औँल्याउँदै उनीहरूले सरकारसमक्ष केही नीतिगत मागहरू प्रस्तुत गरेका छन् । व्यवसायीहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरी नेपाल एअरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
थप अर्थ