नेभिगेशन

केएमसीमा मस्तिष्कको जटिल ‘एभीएम’को विना चिरफार सफल उपचार

काठमाण्डौ - काठमाण्डौ मेडिकल कलेज (केएमसी)ले ६७ वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियोभेनस मालफर्मेसन (एभीएम) विना चिरफार (न्युरोइन्टरभेन्सन) प्रविधिबाट सफल उपचार गरेको जनाएको छ । 

अस्पतालका अनुसार ६७ वर्षको उमेरमा फुटेको ‘ब्रेन एभीएम’ को यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो । केएमसीका अनुसार दीर्घकालीन कलेजो रोगबाट पीडित पुरुष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । 

प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बाइप्लेन क्याथल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो । 

न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्‍याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ । उपचारमा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेल सहितको टोली पनि संलग्न थियो । चिकित्सकहरूका अनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन प्रायः युवावस्थामै देखिने वा फुट्ने गर्छ । 

६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नु अत्यन्त दुर्लभ तथा उच्च जोखिमपूर्ण अवस्था मानिन्छ । बिरामीको जटिल अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरूले परम्परागत टाउको खोल्ने शल्यक्रियाको सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । 

यस क्रममा तिघ्राको रक्तनलीबाट सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याई स्टेन्ट र बेलुनको सहायताले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरिएको थियो । उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति:
थप समाचार