नेभिगेशन
शनिबार, असोज १७, २०८३

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया शुरू

काठमाण्डौ - बुद्धको जन्मभूमि लुम्बिनी र उहाँले बुद्धत्व प्राप्त गरेको ठाउँ सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ ।  

लुम्बिनी बौद्ध विश्वविद्यालय, छाया नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आइएसडीसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो । अध्ययन प्रतिवेदन दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्य ढाँचा तयारीमा केन्द्रित हुनेछ । तीन वटै संस्थाको तर्फबाट संयुक्त रूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । 

आइएसडीसीकी बोर्ड सदस्य स्वाति थापाका अनुसार परियोजनामार्फत अघि बढाइने प्रतिवेदन तयारीका क्रममा अध्ययन, अनुसन्धानसहित प्राज्ञिक क्षेत्रको नेतृत्व विश्वविद्यालय, प्रदेश तथा पालिकासँगको समन्वय छाया नेपाल र समग्र पक्षको समन्वय भने आइएसडीसीले गर्नेछ । छाया नेपालले परियोजनाका लागि १५ लाख रुपैयाँ आर्थिक योगदान गर्ने र अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्ने बोड सदस्य थापाले जानकारी दिनुभयो । 

अर्को वर्ष सन् २०२७ जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यादेश रहेको यो परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीन वटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तर संस्थागत सञ्चालन समिति गठन गरिनेछ । 
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा माणिकरत्न शाक्य, छाया नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आइएसडीसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले यो परियोजनासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति:
थप समाचार