नेभिगेशन

चालक अनुमति पत्र छपाइमा हुने ढिलाईको समस्या अन्त्य

काठमाण्डौ — लामो समयदेखि छपाइको पर्खाइमा रहेका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को सबै पुरानो काम सकिएको छ । अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो । यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाइको ढिलाईको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त गरिरहेको छ ।

विभागबाट हरेक दिन झण्डै तीन हजारदेखि पाँच हजारसम्म आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड २४ घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ । यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो, व्यवस्थित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ ।


 

प्रकाशित मिति:
थप प्रविधि