नेभिगेशन

पाकिस्तानको ‘ब्रोड पिक’ मा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सरकारकाे आग्रह

काठमाण्डाै – नेपाल सरकारले पाकिस्तानको ‘ब्रोड पिक’ मा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेकाे ८ हजार ४७ मिटर अग्लो ‘ब्रोड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएका घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो ।

पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिमपहिरोमा नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ सहित पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेका जनाएको छ ।

६ जना नेपालीसहित १० जनाको अवस्था थाहा हुन सकेको छैन । यद्यपि हिमपहिरो क्षेत्रमा ४ जनाको शव भेटिएको पछिल्लो विवरण छ । यो खबर तयार पार्दासम्म भेटिएका शवको पहिचान हुन सकेको छैन ।

खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

‘ब्रोड पिक’ विश्वको १२ औँ अग्लो हिमाल हो । हिजो त्यहाँ हिमपहिरो गएको थियो । निर्मल पुर्जाले यसअघि सन् २०१९ मा ब्रोड पिकसहित १४ हिमालको साढे ६ महिनाभित्र आरोहण गर्नुभएको थियो ।

1-1785479912.JPG

प्रकाशित मिति:
थप समाज