काठमाण्डौ— अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको नयाँ (https://eportal.hib.gov.np/register) मार्फत स्वास्थ्य बीमासम्बन्धी धेरै काम अब अनलाइनबाटै गर्न सकिने भएको हो । यसबाट बीमा शुल्क तिर्न, केवाईसी विवरण अपडेट गर्न, बीमालेख हेर्न तथा डिजिटल स्वास्थ्य बीमा कार्ड डाउनलोड गर्न सकिन्छ ।
तपाईं पहिले नै स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने सबैभन्दा पहिले स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल (www.eportal.hib.gov.np) खोल्नुहोस् । त्यसपछि त्यहाँ ‘पहिले नै खाता छ ?’ भन्ने प्रश्न चिह्नसहितको निलो अक्षरमा एक छोटो जानकारी देख्नुहुनेछ ।
त्यसपछि तपाईंले त्यसको ठीक तलपट्टि तीर चिन्हसहितको ‘साइन इन’ भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ । अब त्यहाँ ‘पुरानो एचआईबी विवरण ल्याउनुहोस्’ भन्ने विकल्पमा गएर क्लिक गर्नुहोस् ।

त्यसपछि परिवारमूलीको स्वास्थ्य बीमा नम्बर र परिवारका कुनै एक सदस्यको स्वास्थ्य बीमा नम्बर राख्नुहोस् । त्यसपछि आफ्नो मोबाइल नम्बर राखेर ‘ओटीपी पठाउनुहोस्’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।
मोबाइलमा आएको ओटीपी कोड राखेर आफ्नो पासवर्ड बनाउनुहोस् । अब परिवारमूलीको स्वास्थ्य बीमा नम्बर र आफूले बनाएको पासवर्ड प्रयोग गरेर अकाउन्टमा लगइन गर्न सकिन्छ । लगइन गरेपछि पहिलेको विवरणमा कुनै गल्ती भए केवाईसी सेक्सनबाट सच्याउन सकिन्छ ।
फोटो बिग्रिएको, नाम वा परिचयपत्र नम्बर फरक परेको भए पनि यहीँबाट अपडेट गर्न सकिन्छ । त्यस्तै, स्वास्थ्य बीमा नवीकरण पनि यही पोर्टलबाटै गर्न सकिन्छ । नवीकरणका लागि खल्ती, इसेवा र कनेक्टआईपीएसबाट पनि शुल्क तिर्न सकिने सुविधा दिइएको छ ।
यदि तपाईं पहिलो पटक स्वास्थ्य बीमा गर्ने योजनामा हुनुहुन्छ भने सबैभन्दा पहिले एचआईबी ई–पोर्टलको लगइन पेजमा जानुहोस् । त्यहाँ ‘अझै सरकारी स्वास्थ्य बीमामा दर्ता हुनुभएको छैन ?’ भन्ने विकल्पमा रहेको ‘नयाँ परिवार दर्ता’ भन्ने बटनमा क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो नाम र मोबाइल नम्बर राख्नुहोस् । त्यसपछि ‘ओटीपी पठाउनुहोस्’ भन्ने बटन देखिन्छ । मोबाइलमा आएको ओटीपी कोड राखेपछि पासवर्ड राख्ने विकल्प आउँछ । आफूले चाहेको पासवर्ड राखेपछि मोबाइल नम्बर र पासवर्डका आधारमा अकाउन्टमा लगइन गर्न सकिन्छ ।
तपाईं नझुक्किनुहोला, पहिलो पटक अकाउन्ट बनाएपछि होमपेज खाली देखिन्छ । त्यसपछि ‘मेरो बीमालेख’ भन्ने विकल्पमा जानुहोस् । त्यहाँ १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर र जन्ममिति राख्नुपर्ने हुन्छ ।
यदि राष्ट्रिय परिचयपत्र बनेको छैन भने आवश्यक सबै जानकारी आफैँले भर्नुपर्ने हुन्छ । तर तपाईंसँग राष्ट्रिय परिचयपत्र छ भने धेरै विवरण आफैँ भरिन्छ । अस्थायी ठेगानामा आफू अहिले बसिरहेको ठाउँको ठेगाना राख्नुहोला । किनभने यसो गर्दा आफूलाई पायक पर्ने प्रथम सेवा विन्दु नजिकका अस्पतालमा कायम हुने छ ।
यसरी परिवारका हरेक सदस्यको राष्ट्रिय परिचयपत्र नम्बर वा आवश्यक विवरण भर्नुपर्छ । सबै विवरण भरेर स्वीकृत भएपछि बीमा शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।
पाँच जनाभन्दा बढी भए थपिने हरेक व्यक्तिका लागि ७ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ । रकम तिरेपछि तपाईंको एचआईबी प्रोफाइल तयार हुन्छ ।
यो एचआईबी प्रोफाइल नै डिजिटल स्वास्थ्य बीमा कार्ड हो । यसमा परिवारका सबै सदस्यको स्वास्थ्य बीमा कार्ड हुन्छ, जसलाई पीडीएफ फम्र्याटमा डाउनलोड गर्न सकिन्छ ।