नेभिगेशन
पुस्तक समीक्षा

अज्ञात अथवा इतिहासको गजूरमुन्तिरका कथा

सर्सर्ती पढ्दा अज्ञात उपन्यास दुई शताब्दीअघि जन्मिएको एक कमाराको कथा हो, जो गोर्खाली सिपाही र एक कमारीको सन्तान हो । नाम हो मन्या । मन्या जन्मजात कमारो थिएन । तर एकदिन अचानक उसल थाहा पायो उसका बाबु जीवित छन् । बाआमाको अनुहार नदेखेको मन्या एकरात बाआमाको खोजीमा हिँड्यो कुमाउ गढवालको एउटा गाउँबाट बाउ खोज्न ।

हिउँदे झरीले हाल भारतको उत्तराञ्चलमा पर्ने ऋषिकेश नजिकैको चन्द्रभंगा नदीमा भेल बढेको थियो । खोलो पार गर्ने आँट गरेर फाल हान्दा मन्या खोलाको भेलमा बग्यो । चन्द्रभंगाको चिसो पानी, लगभग मृत अवस्थामा खोला किनारमा मन्यालाई एउटा जोगीले तानेर पाखामा निकाल्यो । धुनीमा लगेर जीउ सेकायो । तातो झोल खान दियो । सर्वांग नांगो कमारो, मन्यालाई लगाउने लुगा दियो । जोगीप्रति कृतज्ञ मन्या उसैको साथ लागेर बाबु खोज्दै हरिद्वार पुग्यो । जोगीकै सहयोगमा गुफामा लुकेर बसेको बाबुलाई भेट्यो र आमाको साधीखोजी गर्‍याे ।

बाबु भेटेपछि मन्या निस्कियो आमा खोज्न, जो छोरालाई बेच्न नसकेर आफै बेचिएकी थिइन् । आमाको अनुहार र हुलिया कल्पना गर्दै भारतको हरिद्वारबाट मन्या पूर्व लाग्यो । अहिलेको भारत र नेपालका पहाडी भूभागमा अनेक मान्छे र जोगीको साथ लागेर मन्या त्यसबखतको नेपाल (अहिलेको काठमाण्डाै) पुग्यो । काठमाण्डाैका गल्ली, छिडी र दरबारहरूमा सोधीखोजी गर्दै आमा कहाँ, कसरी बेचिएकी थिइन् भनेर पत्ता लगायो । आमा पश्चिम नेपालमै कमारी बसेको पत्ता लागेपछि मन्या फेरि पश्चिम नेपाल फर्कियो । आमाको खोजीमा जीवनभर भौतारियो मन्या ।

आमा बेचिएका अनेक कथा पछ्याउँदै मन्या त्यही पुग्छ, जहाँबाट एक वर्षअघि उसको यात्रा शुरू भएको थियो ।

उपन्यासको सर्सर्ती कथा यति नै हो । कथा संक्षिप्त भए पनि किताबमा मन्याले आमा खोज्न गरेको यात्राका अनेक मानिसका कथा बुनिएका छन् । कमारा, सिपाही, किसान, माझी र फलामको काम गर्ने लोहार र सर्वसाधारण महिला र पुरुष पात्रहरूका कथा यति धेरै छन्, ती पात्रहरूको पत्रैपत्र परेका कथा र मन्याको यात्राले किताबको आकार खाइलाग्दो बन्न पुगेको छ । किताबको आकार खाइलाग्दो बनाउने कथाहरू पनि अचम्मले खँदिला, स्वादिला र चखिला छन् ।

मन्याको कथा शुरू हुन्छ संवत् १८७० साल मंसिरको दोस्रो रात, हाल भारतको ऋषिकेश नजिकैको गाउँबाट, जो त्यसबखत गोर्खा (अहिलेको नेपाल) को अधिनमा थियो । मन्याको कथा सकिन्छ संवत् १८७१ मंसिरको पहिलो रात नालापानी किल्लामा, जसलाई अंग्रेज फौजले कात्तिकको मध्यदेखि घेरेर राखेको थियो । त्योबेलासम्म मन्या आमा खोज्दाखोज्दै थाकेको थियो । र, आमालाई भेट्ने आश मारेर कुमाउ गढवालको लडाइँमा सामेल भएको थियो । बाको पदचाप पछ्याउँदै नालापानी किल्लामा भएको नेपाल अंग्रेज युद्धमा होमिएको मन्या गोर्खाली फौजको अभिन्न अंग भएर एकरात राँको बोकेर बचेका सिपाहीसितै फेरि पूर्व फर्केको थियो ।

संवत् १८७० मंसिरको २ गते रातिदेखि शुरू भएर संवत् १८७१ मंसिर १ गते राति नालापानीको किल्लाबाट राँको बालेर निस्कँदा मन्याको यात्राले ठ्याक्कै एक वर्ष पार गर्‍याे । अथवा यो उपन्यास मन्याले आमाबाबु खोज्न गरेको एक वर्षे नेपाल यात्राको कथा हो, सामान्य रूपले बुझ्दा ।

तर यो उपन्यास मन्याको सामान्य कथामा भन्दा नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायाण शाहका छोरा बहादुर शाहले शुरू गरेको पश्चिम नेपाल अभियानको कथा हो, जुन गुल्मीबाट शुरू भएर कुमाउ गढवालसम्म पुगेको थियो । अनि संवत् १८७२ मा सुगौली सन्धिमा हस्ताक्षर भएपछि अहिलेको आकारमा खुम्चिएको थियो ।

मन्यालाई पश्चिमबाट पूर्व र फेरि पूर्वबाट पश्चिमको यात्रा गराउँदा उपन्यासले सयौँ पात्रहरूका सयौँ कथाहरू भन्छ । ग्रेटर नेपाल सुन्दै हुर्केका पाठकलाई त्यसबखतको नेपाली भूगोल, बस्ती, खेतीपाती, बालीनाली, घर घडेरी, चालचलन, रीतिरिवाज, डाँडैपिच्छेका भुरेटाकुरे राज्यहरू, त्यसका राजा, मन्त्री, सेना, जोगीको भेषका जासुस, कूटनीति, राजनीति बुझाउँछ । कमाराकमारी, महिला र गरीबी, त्यसबखतको नेपाली संस्कृति र भौगोलिक विकटताको डरलाग्दो कथा भन्छ । हरेक मानिसका आफ्ना कथा छन्, ती कथामा पश्चिम नेपाल विस्तार अभियानमा आममानिसले गरेको योगदान त छँदैछन्, हरेक मानिसले राज्य विस्तारसँगै भोगेका अभाव, दुःख र अत्याचारका कथाहरू छन् ।

किताबमा पाँच खण्ड छन् –– माटो, पानी, हावा, आकाश र आगो । पञ्चतत्त्वका आधारमा पाँच खण्डमा वर्गीकृत गरिएको उपन्यास पढिसक्दा लाग्छ, यो ती मानिसहरूप्रतिको कृतज्ञता र श्रद्धाञ्जली हो, जो इतिहासका पानामा कहिल्यै अटाएनन् । नेपाल निर्माण अभियानका अज्ञात योद्धाहरूप्रतिको भावपूर्ण श्रद्धाञ्जली, जसकाे गाथा हाम्रो लिखित इतिहासमा आजसम्म हराइरहेको थियो ।

भन्न त भनिन्छ, इतिहास विजेताको लेखिन्छ । तर, सबै विजेताको इतिहास कहाँ लेखिन्छ र ! न नेपालमा लेखिएको छ, न त संसारका अरू देशमै । हामीले पढ्ने इतिहास त मन्दिरको गजूर हो, जो सबैले टाढैबाट देख्छन् । तर, त्यो मन्दिर ठडिएको हुन्छ हजारौँ ढुंगा, काठ र इँटाका कणले माटोमुनि थिचिएर र गारोमा चेपिएर । मन्दिरको गजूर थामेका ढुंगा, इँटा, बालुवा र फलामका कण र टुक्राहरूलाई देख्न सूक्ष्म दृष्टि चाहिन्छ । अज्ञात त्यही सूक्ष्मदृष्टिले हेरिएको नेपाल निर्माण अभियानका सिपाहीहरूको कथा हो । अज्ञातमा लेखकले इतिहासको गजूरमुनि थिचिएका सयौँ योद्धा, महिला, बालबच्चा, माझी, लोहार र कमाराकमारीहरूले युद्धमा गरेको योगदानको उत्खनन गरेका छन् ।

अज्ञात इतिहास हैन, तर इतिहासको गहिरो ज्ञानविना लेखिएको किताब पनि हैन । इतिहासको गहिराइमा डुबेर इतिहासले भन्न बिर्सेका र भन्न नसकेका कथाहरूले भरिपूर्ण आख्यान हो । अहिलेसम्म कसैले नलेखेको, नपढेको र गहिरिएर कसैले नसोचेको ऐतिहासिक उपन्यास ।

किताब कति कल्पना हो र कति तथ्यमा आधारित ऐतिहासिक कथा हो भन्ने कुरा किताबको अन्तमा लेखकले उल्लेख गरेका पात्र परिचय, उबेला प्रचलित शब्द र तिनका अर्थको सूची तथा सन्दर्भ सामग्रीहरूले स्पष्ट पार्छन् ।

किताबको अन्तमा दिइएका लेखकीय सामग्रीको सन्दर्भ सूची, किताबका ठाउँठाउँमा उद्धरण गरिएका चिठीपत्र र विवरण तथा किताबको मूल पात्र मन्याले यात्रा गरेका स्थानहरूमा विचरण गर्दा यो किताब इतिहासको अंशजस्तो लाग्छ । त्यसैले, ऐतिहासिक उपन्यासका नाममा लेखिने धेरै किताबको जस्तो कल्पनामा मात्र हैन । उपन्यास भए पनि अज्ञात दुई सय वर्षअघिको समाज, चालचलन, रीतिरिवाज र भौगोलिक कठिनाइको जीवन्त दस्तावेज हो ।

नेपाल निर्माण र विस्तारको पश्चिम अभियानबारे अनेक किताब लेखिएका छन् इतिहासका । तर, यस कालखण्डबारे नलेखिएका कथालाई सिपाहीको दृष्टि र नजरबाट लेखिएको यो अद्भूत आख्यान हो ।

अज्ञात उपन्यास पढ्न शुरू गर्दा मलाई पूरै किताब पढौँला भन्ने लागेको थिएन । किताब पढेपछि मलाई लेखकबारे जान्न मन लाग्यो । अज्ञात किताबको परिचय दिन लेखक केशव ज्ञवालीले असार २४, २०८३ मा साहित्य पोष्टमा भनेका तीन वाक्यले झनै मन छोए । ज्ञवालीले भनेका तीन वाक्य हुन् ‘एउटा राष्ट्रको सीमा र सार्वभौमिकताको निरन्तरतामा त्यो सीमाभित्र रहे बसेका सबैको योगदान हुन्छ । योगदानको परिणामलाई मूल्यांकन गर्ने हो भने आममानिसको कुल योगदान सधैँ ठूलो हुन्छ । नेपाल निर्माणको त्यो समयका आममानिसले गरेका काम र कहरको साहित्यिक सम्बाेधन नै अज्ञात हो ।’

त्यही योगदान, काम र कहरको कथा हो उपन्यास अज्ञात, जसले इतिहासलाई भूइँतहका मानिसको दृष्टिले संघर्षशील पात्र, सलल्ल बगेको कथा अनि सरल र सवल भाषामा मन छुने गरेर भनेको छ ।

प्रकाशित मिति:
थप विशेष