नेभिगेशन

विश्वमै पहिलो पटक एआईको सहयोगमा मस्तिष्कको शल्यक्रिया

कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर सफलतापूर्वक हटाइएको छ ।

बेलायतको बेडफोर्डशायरका राइस हिबर्टले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि गुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्यचिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्त्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बच्ने भन्नेबारे सल्लाह दिएको थियो । यसले चिकित्सकहरूलाई ट्युमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मद्दत गरेको खबरमा उल्लेख छ ।

मस्तिष्कको जाँचबाट ४८ वर्षीय हिबर्टको पिट्युटरी ग्रन्थिमा ११ मिलिमिटरको क्यान्सर नभएको ट्युमर बढिरहेको पत्ता लागेको थियो ।

पिट्युटरी ग्रन्थि खप्परको तल्लो भागमा रहेको मार्बलको आकारको एउटा अङ्ग हो । यस ग्रन्थिले वृद्धि, मेटाबोलिजम तथा रक्तचाप र तापक्रमको सन्तुलन कायम राख्नेजस्ता प्रक्रियाहरूमा मद्दत गर्ने महत्त्वपूर्ण हर्मोनहरू उत्पादन गर्छ ।

शल्यचिकित्सकहरूले राइस हिबर्टलाई विशेषरूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन ।

बेलायतका एक शल्यचिकित्सकले वर्षमा औसत यस्ता झन्डै १० देखि २० वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचनाबारे जानकारी लिन शल्यक्रियाअघि गरिएका स्क्यानहरूमा भर पर्छन् ।

प्रकाशित मिति:
थप प्रविधि