नेभिगेशन

भोटेकोशीमा बुधवारको जस्तै भीषण बाढीको जोखिम नभए पनि सतर्कता अपनाउन जरुरी

काठमाण्डौ — भोटेकोशी नदीमा यसअघि आएको जस्तो ठूलो बाढी तत्काल आउने सम्भावना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल–चीन सीमा क्षेत्रमा पानी थुनिएर ताल बने पनि त्यो तत्काल फुटेर ठूलो बाढी आउने अवस्था नरहेको महाशाखाका प्रमुख विनोद पराजुलीले बताउनुभएको छ ।

उज्यालोसँग कुरा गर्दै पराजुलीले चीनतर्फबाट प्राप्त ड्रोन तस्बिर तथा गरिएको सर्वेक्षणबाट सीमा क्षेत्रमा झण्डै २० देखि ३० लाख घनमिटर पानी थुनिएर ताल बनेको देखिएको जानकारी दिनुभयो । तर यो ताल तत्काल फुट्ने र त्यसबाट यसअघि भोटेकोशीमा आएको जस्तै ठूलो बाढी आउने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिलेको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ ।

हिमाली क्षेत्रमा मौसम, भूगोल र नदीको बहावमा आकस्मिक परिवर्तन हुन सक्ने भएकाले तत्काल ठूलो बाढीको सम्भावना नरहे पनि जोखिमलाई बेवास्ता गर्न नहुने महाशाखाको भनाइ छ । पराजुलीले बाढी प्रभावित क्षेत्रका उद्धार तथा राहतमा खटिएका टोली र भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले यसअघि बाढीले कटान गरेको पुरानो सीमाभन्दा पनि बाहिर तथा सम्भव भएसम्म सुरक्षित र उच्च ठाउँमा रहन आग्रह गर्नुभएको हो ।

पराजुलीका अनुसार हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको गति अत्यन्त तीव्र हुने भएकाले जोखिमको पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ । यसअघि आएको बाढी तिब्बततर्फको सीमा क्षेत्रबाट ६ देखि ७ घण्टामै चितवनसम्म पुगेको उदाहरण दिँदै उहाँले नदीको तल्लो तटीय क्षेत्रमा समेत निरन्तर सतर्कता आवश्यक रहेको बताउनुभयो ।

महाशाखाका प्रमुख पराजुलीले भोटेकोशीमा आएको यसअघिको बाढी पछिल्लो ७० वर्षको इतिहासमै अहिलेसम्मकै ठूलो बाढी भएको उल्लेख गर्दै यस्ता घटनाबाट पाठ सिकेर हिमाली तथा नदी तटीय क्षेत्रमा निगरानी अझै बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

टिमुरे र स्याफ्रुबेसी आसपासका क्षेत्रमा उद्धारमा खटिएका नेपाली तथा चिनियाँ सुरक्षा निकायले नदीको निरन्तर निगरानी गरिरहेका छन् । सीमा क्षेत्रदेखि तल्लो तटीय क्षेत्रसम्म नदीको अवस्था र पानीको बहावमा हुन सक्ने परिवर्तनलाई नजिकबाट नियालिएको छ ।

महाशाखाका अनुसार नदीको बहावमा असामान्य वृद्धि, ताल फुट्ने अवस्था वा अन्य कुनै जोखिमको संकेत देखिएमा त्यसको सूचना तत्काल तल्लो तटीय क्षेत्रसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । यसका लागि सम्बन्धित निकायबीच समन्वय गरी पूर्वसूचना प्रणालीलाई सक्रिय राखिएको छ ।

महाशाखाले तत्काल ठूलो बाढीको सम्भावना नरहेको बताए पनि हिमाली क्षेत्रमा जोखिम पूर्ण रूपमा टरिनसकेको स्पष्ट पारेको छ । त्यसैले भोटेकोशी आसपासका बासिन्दा, उद्धार तथा राहतमा खटिएका टोली र नदी किनारमा रहेका सबैलाई नदीको अवस्था सामान्य देखिए पनि सावधानी अपनाउन आग्रह गरिएको छ ।


 

प्रकाशित मिति:
थप विशेष