रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करवीर गैरेका लागि बुधवार बिहान मृत्यु र जिन्दगीबीचको दूरी केवल १० देखि १५ सेकेन्डको मात्र बन्यो । कार्यालयको भवनभित्र दैनिक प्रशासनिक कामहरू भइरहेका थिए । सबैजना आ–आफ्नो जिम्मेवारीमा व्यस्त थिए, कसैलाई पनि थाहा थिएन कि केहीबेरमै प्रकृतिले आफ्नो सबैभन्दा भयानक र क्रूर रूप देखाउँदैछ भनेर ।
अचानक जमिन भूकम्प आएझैँ थरथर काँप्न थाल्यो । कार्यालयको झ्यालबाट बाहिर हेर्दा भोटेकोशी नदीको उर्लिँदो प्रवाह सोझै कार्यालयतिरै आउँदै थियो । भोटेकोशी पहाडको भित्तामा ठोक्कियो र घुम्दै, मडारिँदै, कालो धूवाँ र धूलोको मुस्लोसहित कार्यालयसम्मै आइपुग्यो । त्यति बेला केही सोच्ने समय नै थिएन । दृश्य देख्नासाथ गैरेले आफ्ना सहकर्मीहरूलाई ‘बाढी आयो, भागौँ भागौँ’ भनेर चिच्याउँदै दौडनुभयो ।
उहाँ अघिअघि उकालोतर्फ भाग्नुभयो र उहाँलाई पछ्याउँदै अन्य साथीहरू पनि ज्यान जोगाउन दौडिए । तर विपद्को त्यो १० सेकेन्ड यस्तो थियो कि कसले कसलाई बचाउने वा को कता भाग्यो भनेर हेर्ने होश कसैलाई भएन । कतिपय साथीहरू दिग्भ्रमित भएर भूकम्प आएको सम्झी खुला ठाउँ मानिने नदीतिर भागे भने कतिपय खुला ठाउँमै अडिए । त्यही गलत निर्णय उनीहरूलाई सधैँका लागि काल बनिदियो । गैरे भाग्दै गर्दा बाढीको छिटा, हावासँगै आएको कालो धूलोको मुस्लोले पूरै शरीर छोप्यो । नदी सोझै भन्सारतिर नआएर अलिकति मोडिएर पारिपट्टिको भित्तामा ठोक्किएकै कारण पानीको मूल प्रवाह अर्कैतिर सोझियो र उहाँसहित केही साथीहरू ज्यान जोगाउन सफल हुनुभयो ।

विपद् साम्य भएपछिको दृश्य झनै कारुणिक र कहालीलाग्दो थियो । बिहान आधा घण्टाअघि मात्रै हाँसीखुशी कुराकानी गरेको आफ्नै गाउँका साथी, २ मिनेट अगाडि एउटै टेबलमा बसेर काम गरिरहेका सहकर्मी सबै क्षणभरमै बाढीमा बगेर बेपत्ता भए । कतिलाई आफ्ना बहुमूल्य सामान र सम्पत्तिको लोभले पनि सिध्यायो । भन्सार क्षेत्रका घरहरूको एक महिनाको भाडा नै १५ हजारसम्म पर्ने भएकाले धेरैले सम्पत्ति जोगाउने प्रयास गर्दा ज्यान गुमाए । गैरे आफैँले पनि आफ्नो फोन वा ल्यापटप समात्ने प्रयास गर्नुभएको भए बाढीमा बग्नु हुने थियो । उहाँ शरीरमा लगाएको एकसरो लुगा र जिउभरि लागेको हिलोको भरमा जीवित रहन सक्नुभयो ।
रसुवागढी र टिमुरे क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षति व्यापक छ । गएकाे वर्षको बाढीले भन्सार यार्डमा मात्र क्षति पुर्याएकाले यसपालि पनि धेरैले सामान्य बाढीको अनुमान गरेका थिए । तर यसपालिको बाढी सामान्यभन्दा लगभग २०० गुणा शक्तिशाली र नदीको सतहभन्दा १०० मिटरभन्दा बढी माथिसम्म उर्लिएर आएको थियो । रसुवागढी जलविद्युत्काे सुरुङबाट पानी फाल्ने प्वाल जुन खोलाको फेदबाट झन्डै १५० मिटर माथि छ, त्यहाँसम्म बाढीको माटो टाँसिएको दृश्यले नै बाढीको भयानक विनाशकारी शक्ति कस्तो हो भनेर प्रष्ट देखाउँछ ।
अहिले भन्सार यार्ड, क्वाटर र टिमुरे बजारको अस्तित्व पूर्णरूपमा मेटिएको छ । भन्सार यार्ड र सडक किनारमा खडा गरिएका झन्डै ३०० भन्दा धेरै नयाँ विद्युतीय गाडी र १५० भन्दा धेरै मालवाहक डिब्बा बाढीले नामोनिशान नरहने गरी बगाएको छ । सञ्चारमाध्यममा ४००–५०० मानिस मात्रै बेपत्ता भएका खबर आए पनि वास्तविक स्थिति त्योभन्दा निकै गुणा भयावह छ । टिमुरे बजारका २०० घरधुरी, ३०–३५ वटा होटेलमा काम गर्ने सयौँ मजदुर, चीनतर्फ सडक निर्माणमा खटिएका १५० भन्दा धेरै कामदार, गाडी लोड–अनलोड गर्ने ६० वटा समूहका सयौँ मजदुर, गेट ड्युटीमा रहेका भन्सारका कर्मचारी र सीमा सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका टोलीहरू गरी टिमुरे र माथिल्लो क्षेत्रबाट मात्रै कम्तीमा २ हजारदेखि २ हजार ५०० मानिस बेपत्ता भएका छन् ।

घटनालगत्तै उद्धारको प्रयास भए पनि विकट भूगोलका कारण स्थिति निकै चुनौतीपूर्ण बनेको छ । भित्ता खोपेर बनाइएका बाटाहरू सबै बाढीले बगाएर लगेकाले पैदल मार्ग पूर्णरूपमा ठप्प छ । पहाडका भित्ता र बाक्लो हिलोमुनि कैयौँ शव थिचिएका छन् । बेत्रावतीभन्दा तल नदीसम्म परेको र किनारमा हिँड्न मिल्ने ठाउँमा मात्र उद्धार र शव भेट्टाउने काम सम्भव भइरहेको छ । तर टिमुरे र स्याफ्रुबेँसीको माथिल्लो भीरपखारामा हेलिकप्टरबाट हेर्नुबाहेक अन्य कुनै उपाय बाँकी रहेन ।
सेनाको हेलिकप्टरले घटनाको झन्डै ६–७ घण्टापछि अर्थात् दिउँसो साढे २ बजेतिर मात्रै उहाँहरूलाई जङ्गलको उकालोबाट उद्धार गरेर त्रिशूली पुर्यायो । उद्धारका क्रममा राज्य संयन्त्रको पहुँच र सर्वसाधारणको पहुँचबीचको तीतो यथार्थ पनि प्रष्ट देखियो । पहुँच हुनेहरू हिँड्दै माथिल्लो भागसम्म पुगेर निजी हेलिकप्टरमार्फत तत्कालै काठमाण्डौ फर्किए जहाँ निजी हेलिकप्टर सञ्चालकहरूले मानवीयताभन्दा व्यापारलाई धेरै प्राथमिकता दिए । अर्कोतिर पहुँच नहुने निमुखाहरूका लागि भने उद्धार र समन्वयको अभावमा धुन्चे र त्रिशूलीका अस्थायी आश्रयस्थलहरूमा कठिन दिनहरू बिताउनुपर्ने बाध्यता आइपर्याे ।
अहिले काठमाण्डौ फर्किएर परिवारसँगै पुग्दा पनि करवीर गैरेको मन अशान्त छ । आँखै अगाडि सँगै काम गर्दागर्दै हराएका साथीहरू र हजारौँ बेपत्ता नागरिकको कारुणिक अनुहारले उहाँलाई निरन्तर झस्क्याइरहन्छ । जीवन र मृत्युको त्यो १० सेकेन्डको अन्तरलाई सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘यदि म मेरो फोन वा ल्यापटप समात्न मात्रै २ सेकेन्ड रोकिएको भए, आज यो भयानक कथा सुनाउन म जीवित रहने थिइनँ होला ।’ प्रकृतिको यो अकल्पनीय ताण्डव र सहकर्मीहरूको बिछोडको गहिरो घाउ बोकेर उहाँ अहिले जीवनको नयाँ र सोच्नै नसकिने यथार्थसँग जुधिरहनुभएको छ ।
तस्वीर साैजन्य : करवीर गैरे