काठमाण्डौ – नेपाल–चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद् जोखिमबारे गम्भीर प्रश्न उठाएको छ ।
अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी, चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिम–चट्टान पहिरोको जोखिम बढ्दै गएको भन्दै परम्परागत पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन् ।
उनीहरुले त्यसको निगरानी र पूर्वसूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ अधिकारीहरूको प्रारम्भिक मूल्यांकनअनुसार लाङटाङ लिरुङको उत्तरी ढलानमा करिब ५ हजार २ सय मिटरको उचाइमा हिमनदीको ठूलो भाग भाँचिएर तल खसेको थियो ।
त्यस क्रममा बरफसँगै ठूलो परिमाणमा चट्टान तल खसेपछि पहाडको भिरालो भागलाई समेत बगाउँदै बरफ, माटो र पानी मिसिएर बनेको ठूलो भेललस्तै प्रवाह तीव्र गतिमा करिब ४ हजार मिटरको उचाइसम्म झरेको थियो ।
त्यो प्रवाह करिब २२ किलोमिटर तलसम्म पुगेको र सुरुआती पहिरोपछि केरुङ बन्दरगाहसम्म पुग्न ६ देखि ७ मिनेट मात्रै लागेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अर्थात यो बेग यति तीव्र गतिमा फैलिएको थियो कि पहाड भत्किएको ६ देखि ७ मिनेटमै चट्टान, बरफ, माटो र पानीको ठूलो भेल केरुङ बन्दरगाहसम्म पुगेको थियो ।
यस्तो छोटो समयमा हुने विपद्मा परम्परागत नदीको जलस्तर, वर्षा वा बाढी मापनमा आधारित पूर्वसूचना प्रणालीले मानिसलाई सुरक्षित ठाउँमा पुग्न पर्याप्त समय दिन नसक्ने विज्ञहरूको भनाइ छ ।अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भूवैज्ञानिक जाकोब स्टाइनरका अनुसार घटनास्थलको भू–उपग्रह तस्बिर र पहिरोले बनाएको गहिराइ हेर्दा विपद्को शुरुआत हिमनदीबाट मात्रै भएको नहुन सक्छ ।
पहिला चट्टानको ठूलो भाग भासिएको र त्यसमा रहेको बरफ थपिएर पहिरोको परिमाण र बाढीको प्रभाव बढेको हुन सक्ने उहाँको विश्लेषण छ । फ्रान्समा रहेको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी विशेषज्ञ क्रिस्टिन कुकका अनुसार घटनाको प्रारम्भिक कारण चट्टानको ढलान भत्किनु हुन सक्छ ।
त्यसैले यसलाई केवल ‘हिमनदी पग्लिएर आएको बाढी’ भनेर बुझ्नु जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ । विज्ञहरूले लामो समयदेखि भइरहेको तापक्रम वृद्धि, भूगर्भीय प्रक्रिया र पृथ्वीको भित्री भागमा रहेका ठूला प्लेटहरुको गतिविधिले हिमाली ढलानको स्थायित्वमा असर पार्न सक्ने बताएका छन् । छोटो समयको हिउँ वा बरफ पग्लिनु अन्तिम ट्रिगर हुन सक्छ, तर त्यसअघिदेखि नै ढलान कमजोर बन्दै गएको हुन सक्ने उनीहरूको तर्क छ ।
हिमाली क्षेत्रमा विपद् जोखिम मूल्यांकन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार हिमनदी, चट्टान, पहाडको ढलान र नदी प्रणालीबीच हुने अन्तरसम्बन्धलाई समेत एउटै प्रणालीमा राखेर अध्ययन गर्नुपर्ने देखिएको छ । यस्तो किसिमको विपद्का लागि भूकम्पीय निगरानीमा आधारित प्रभावकारी सञ्चालनयोग्य पूर्वसूचना प्रणाली अहिले व्यापक रूपमा उपलब्ध छैन ।
नदीमा पानीको बहाव मापन गर्ने उपकरण राखे पनि ती उपकरणलाई पहिरो वा बाढीले नै बगाउन सक्छ । उपकरण बचेको अवस्थामा पनि बाढी शुरु भएपछि त्यसको वास्तविक परिमाण तत्काल अनुमान गरेर तल्लो तटीय बस्तीलाई पर्याप्त समयमै चेतावनी दिन कठिन हुन सक्छ । अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भूवैज्ञानिक जाकोब स्टाइनरका अनुसार कुनै असामान्य संकेत भेटिए पनि त्यसलाई सही ढंगले व्याख्या गर्नुपर्ने हुन्छ ।
हरेक संकेतलाई खतराका रूपमा लिएर चेतावनी दिँदा बारम्बार गलत अलार्म बज्ने जोखिम हुन्छ । त्यसैले विज्ञहरूले विपद् शुरु भएपछि संकेत खोज्नेभन्दा विपद् हुनुअघि नै पहाडको ढलानमा भइरहेको परिवर्तन पत्ता लगाउने प्रणालीमा जोड दिएका छन् । रिमोट सेन्सिङ अर्थात् उपग्रह तथा अन्य प्रविधिबाट हिमाली ढलानको निरन्तर निगरानी गर्न उनीहरुको सुझाव छ ।
उपग्रहबाट खिचिएका तस्बिर र अन्य रिमोट सेन्सिङ प्रविधिको प्रयोग गरी पहाडको सतहमा आएको सूक्ष्म परिवर्तन, चिरा, ढलानको गति वा असामान्य भू–आकृति पहिल्यै पहिचान गर्न सकिन्छ। त्यसपछि जोखिमयुक्त क्षेत्रमा थप स्थलगत अध्ययन र निगरानी केन्द्रित गर्न सकिन्छ ।
फ्रान्समा रहेको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी विशेषज्ञ क्रिस्टिन कुकले विशेष रूपमा स्वचालित ढलान–विकृति निगरानी प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँका अनुसार यस्तो प्रणालीले मानिस पुग्न कठिन ५ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा समेत ढलान अस्थिर हुँदै गएको संकेत पहिचान गर्न सहयोग गर्न सक्छ ।
नेपालजस्तो भौगोलिक रूपमा जटिल देशका लागि यसको महत्व अझ बढी छ । हिमाली क्षेत्रमा सडक, जलविद्युत् आयोजना, पदमार्ग, पर्यटकीय बस्ती तथा नदी किनारमा रहेका संरचना बढ्दै गएकाले माथिल्लो क्षेत्रमा भएको एउटा ठूलो भौगोलिक परिवर्तनको असर धेरै तलसम्म पुग्न सक्छ ।
स्टाइनरका अनुसार लाङटाङको घटना छुट्टै र असाधारण घटना मात्रै भनेर बेवास्ता गर्न मिल्दैन । तापक्रम वृद्धि र हिमाली वातावरणमा भइरहेको दीर्घकालीन परिवर्तनका कारण यस्ता घटना भविष्यमा अझ देखिन सक्ने उहाँको चेतावनी छ । यसले नेपालका लागि विपद् व्यवस्थापनको परम्परागत ढाँचा पुनरावलोकन गर्नुपर्ने संकेत दिएको छ ।
अब पूर्वसूचना भन्नाले वर्षा कति भयो, नदीमा पानी कति बढ्यो र हिमतालमा पानी कति छ भन्ने मात्रै होइन । कुन पहाडको ढलान कति सर्दैछ, कहाँ चिरा बढ्दैछ, कुन हिमनदी अस्थिर हुँदैछ र कुन क्षेत्रमा चट्टान खस्ने सम्भावना बढ्दैछ भन्ने जानकारी पनि पूर्वसूचना प्रणालीको हिस्सा बनाउनुपर्ने देखिएको छ ।
हिमाली विपद् आएपछि उद्धार गर्ने क्षमताभन्दा विपद् आउनुअघि जोखिम पहिचान गर्ने प्रविधिमा लगानी बढाउनुपर्नेमा विज्ञहरुको सुझाव छ ।