नेभिगेशन

लण्डनमा पहिलोपटक चालकविहीन रोबोट्याक्सी सेवा शुरु

लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबोट्याक्सी सेवा शुरु भएको छ । अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनिक्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो ।

अहिले उबरका १५ वटा स्वचालित विद्युतीय गाडीलाई लन्डनमा सञ्चालनको अनुमति दिइएको छ । तर हरेक गाडीमा आपत्कालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एक जना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ । यसको भाडा भने सामान्य ट्याक्सी सरह नै हुनेछ ।

रोबोट्याक्सीमा बेलायती प्रविधि कम्पनी वेभले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ । उबरले आउँदा केही वर्षमा स्वचालित गाडीको संख्या विस्तार गर्ने योजना बनाएको छ । यससँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ ।

कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाडीमध्ये आफूले चाहेको सेवा रोज्न सक्नेछन् । तर पूर्ण रूपमा चालकविहीन रोबोट्याक्सी सञ्चालनका विषयमा बेलायतमा सुरक्षा र नियमनसम्बन्धी प्रश्न उठिरहेका छन् । बेलायतको यातायात विभाग र लन्डनको यातायात प्राधिकरणले स्वचालित गाडीको सेवा शुरु गर्नुअघि कडा सुरक्षा परीक्षण र नियामकीय स्वीकृति आवश्यक पर्ने बताएका छन् ।

विशेषज्ञहरूले भने व्यस्त र जटिल लन्डनजस्तो सहरमा आपत्कालीन अवस्था, पैदलयात्रु, साइकलयात्री तथा आकस्मिक रूपमा हुने सडक गतिविधिमा स्वचालित गाडीले कसरी निर्णय गर्छ भन्ने विषय अझै महत्वपूर्ण र चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति:
थप प्रविधि