नेभिगेशन

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती

काठमाण्डौ – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती शुरु गर्नुभएको छ ।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा शुरु गरिएको खेतीबाट उहाँले अहिलेसम्म तीन पटक फल उत्पादन गरिसक्नुभएको छ । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती शुरु गरिएको बेलवासेले बताउनुभयो ।

उहाँले प्रतिबिरुवा  १६० रुपैयाँका दरले खरिद गर्नुभएको हो । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उहाँको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताउनुभयो । बेलवासेका अनुसार अहिले प्रतिकिलोग्राम  ४०० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको बेलवासेले बताउनुभयो ।

यूट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिनुभएको छ । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उहाँको भनाइ छ ।

चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उहाँले बताउनुभयो । जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको बेलवासेको अनुभव छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती सुरु हुन थालेको बताउनुभयो । व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।

प्रकाशित मिति:
थप विशेष