नेभिगेशन

चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा उद्धारको काम चल्दै

काठमाण्डौ - भोटेकोशी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत् केन्द्रको सुरुङ खुलाउने काम भैरहेको छ ।

कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको प्वाल खोल्न थालिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ । निरन्तरको प्रयासपछि अहिलेसम्म सुरुङभित्रको करिब १०० मिटर लेदो हटाइसकिएको छ ।

नियन्त्रण कक्षको लेदो हटाइएपछि थुनिएका प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ । आयोजनका अनुसार विद्युत् केन्द्र सञ्चालनमा रहेकाले सुरुङभित्र रहेका तीन जना प्राविधिक कर्मचारी नियन्त्रण कक्ष (कन्ट्रोल रुम)मा कार्यरत रहेको अनुमान छ ।

नेपाली सेनाको ६ नम्बर वाहिनीका वाहिनीपति उज्ज्वल विक्रम राणाको कमान्डमा सुरुङ खुलाउने तथा प्राविधिक कर्मचारीको खोज तथा उद्धार कार्य भइरहेको छ ।

उद्धारका लागि आवश्यक प्राविधिक सहयोग तथा स्थलगत अनुगमन गर्न नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ पनि आयोजना स्थल पुग्नुभएको छ ।

प्रकाशित मिति:
थप समाज