नेभिगेशन
आइतबार, भदौ २८, २०८३

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीन वटा पुल उपलब्ध गराएको छ ।

भारतले उपलब्ध गराएका ती तीन वटा मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो । ७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिवार नेपाललाई हस्तान्तरण गर्नुभयो ।

गएको भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति भएको छ ।

पुल क्षतिग्रस्त भएपछि विभिन्न सडकखण्डमा यातायात प्रभावित बनेको छ । लामो समयसम्म सडक सम्पर्क अवरुद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ ।

भारतबाट प्राप्त तीन वटा मोड्युलर पुल बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ । मोड्युलर पुल एकापसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ ।

यस्ता पुल बाढी, पहिरो जस्ता संकटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गरिन्छ । कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ ।

प्रकाशित मिति:
थप समाज