नेभिगेशन
सोमबार, भदौ २९, २०८३

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, १ अर्ब रुपैयाँभन्दा धेरैकाे पशुधन गुम्यो

काठमाण्डाै – भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीले विशेषगरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्‍याएको छ ।

प्राप्त विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा १ हजार ६६९ हेक्टर क्षेत्रफलको धानखेती नष्ट हुँदा ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ । त्यस्तै १३७ हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झन्डै १ हजार ८४३ टन तरकारी नष्ट भएको छ ।

भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोरखा र रसुवाका पालिकाहरू बाढीबाट धेरै प्रभावित भएका छन् ।

नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धानखेती र ९८ हेक्टर तरकारीखेतीमा क्षति पुगेको छ ।

यस्तै पशुधनतर्फ मात्रै १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । बाढीबाट २ लाख ५२ हजारभन्दा धेरै पशुपक्षी प्रभावित भएका छन् ।

४ हजार ५७२ भैँसी मरेर ४५ करोड ७२ लाख रुपैयाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा ३९ करोड १३ लाख तथा गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

सङ्ख्याका हिसाबले २ लाख १४ हजारभन्दा धेरै कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाईगोरुको हिस्सा मात्रै ९२ प्रतिशतभन्दा धेरै रहेको छ ।

बाढीका कारण ग्रामीण क्षेत्रका किसानहरूको आम्दानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति:
थप अर्थ