काठमाण्डौ – भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीबाट ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन् । प्रभावित जनसङ्ख्या ३२ हजार ८७२ छ भने २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
सर्वेक्षणमा आएको प्रारम्भिक विवरणअनुसार नुवाकोटमा बाढीबाट सबैभन्दा बढी क्षति पुगेको छ । नुवाकोटका ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन् । यस्तै रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।
बाढीबाट सबैभन्दा ठूलो क्षति जग्गाजमिनमा पुगेको छ । ३ हजार ६१० परिवारको ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको जग्गाजमिनमा क्षति पुगेको सर्वेक्षणको प्रारम्भिक विवरणमा देखिएको छ ।आफ्नै स्वामित्वमा घर भएको जग्गाको घडेरीमा १३ अर्ब २६ करोड रुपैयाँ र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति आंकलन गरिएको छ ।
बाढीबाट २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कुल ४ हजार १५१ क्षतिग्रस्त भवन संरचनामध्ये ३ हजार १९४ पुनःप्रयोग गर्न नसकिने अवस्थामा रहेको विवरण छ। ३३२ संरचना पूर्ण मर्मतसम्भारपछि, ३२० सामान्य मर्मतसम्भारपछि र ९७ संरचना मर्मत नगरी प्रयोग गर्न सकिने अवस्थामा छन् ।
बाढीले घरजग्गामा मात्र नभई कृषि उत्पादन र परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ । खेतबारीमा लगाएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसबाट २ हजार ९५१ परिवार प्रभावित भएका छन् । भण्डारमा रहेको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ र पशुपंक्षी तथा माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । खाद्यान्नमा क्षति पुग्दा १ हजार ८७६ र पशुपंक्षी तथा माछामा क्षति पुग्दा १ हजार ११ परिवार प्रभावित भएका छन् ।
परिवारले प्रयोग गर्ने गाडीमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसबाट १ हजार ११५ परिवार प्रभावित भएका छन् । त्यस्तै, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
बाढीबाट व्यवसाय तथा प्रतिष्ठानतर्फको क्षेत्रगत विवरणमा थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित देखिएको छ । यस क्षेत्रमा ७७४ प्रतिष्ठान प्रभावित भएका छन्, जुन क्षेत्रगत विवरणमा समेटिएका प्रतिष्ठानको ४७.२५ प्रतिशत हो ।
आवास तथा खाद्य सेवा क्षेत्रका ३३७ प्रतिष्ठान प्रभावित भएका छन् । यो कुलको २०.५७ प्रतिशत हो । कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठान प्रभावित भएको विवरण छ । औद्योगिक उत्पादन क्षेत्रका ७०, निर्माण क्षेत्रका ४७ तथा यातायात र भण्डारण क्षेत्रका ३१ प्रतिष्ठानमा असर परेको छ । यसबाहेक वित्तीय सेवा, खानी तथा उत्खनन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिष्ठान पनि प्रभावित भएका छन् ।
जिल्लागत विवरणअनुसार नुवाकोटमा ३२३, धादिङमा १०४, रसुवामा ५७ र गोरखामा १५ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएको उल्लेख छ ।