नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

इजरायलमा नयाँ सरकार गठनको अन्योल कायमै

इजरायलमा भएको संसदीय चुनावपछि नयाँ सरकार गठन गर्ने विषयमा देखिएको राजनीतिक अन्योल कायमै छ ।

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धन दुवैले स्पष्ट संसदीय बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अरब नेतृत्वका राजनीतिक दलहरू सरकार गठनको समीकरणमा निर्णायक बन्न सक्ने देखिएका छन् ।

चुनावपछिको पछिल्लो मतगणनामा नेतान्याहू नेतृत्वको गठबन्धनले १२० सदस्यीय संसद्मा ५३ सिट प्राप्त गर्ने अनुमान छ भने पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट पाउने देखिएको छ ।

अरब नेतृत्वका जोइन्ट लिस्ट र राआम दलले संयुक्त रूपमा १९ सिट प्राप्त गर्ने प्रारम्भिक अनुमान छ । सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । यद्यपि, यी परिणाम अन्तिम भइसकेको छैन ।  

अरब समुदायको प्रतिनिधित्व गर्ने जोइन्ट लिस्ट गठबन्धनका वरिष्ठ सांसद अहमद तिबीले नेतान्याहूलाई सत्ताबाट हटाएर वैकल्पिक सरकार गठन गर्ने विषयमा विपक्षी गठबन्धनसँग वार्ता भइरहेको बताउनुभएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलको अरब अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित अपराध नियन्त्रण, घर भत्काउने कार्य रोक्ने, पूर्वाधार विकास तथा घृणाजन्य गतिविधि नियन्त्रणजस्ता विषयमा प्रगति हुने सुनिश्चित भएमा जोइन्ट लिस्ट संसदीय सहकार्यका लागि तयार भएको खबरमा उल्लेख छ ।

अरब दलहरूले सरकारमा प्रत्यक्ष सहभागी नभई संसद्मा आवश्यकताअनुसार समर्थन दिएर पनि नयाँ सरकार गठनमा भूमिका खेल्न सक्ने समेत विश्लेषकहरुको भनाइ छ । यो सहकार्यले विपक्षी गठबन्धनलाई बहुमत जुटाउन सहयोग पुग्नेछ ।

नेतान्याहूले यहुदी र अरब मतदाताबीच सिर्जना गरेको विभाजनलाई स्वीकार गर्न नहुने विपक्षी नेताहरुको भनाइ छ । अरब दलहरूले समर्थन दिन सक्ने सम्भावना भए पनि विपक्षी गठबन्धनभित्र उनीहरूसँग सहकार्य गर्ने विषयमा एकमत छैन । 

प्रकाशित मिति:
थप विश्व