नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

सञ्चार गृहमा प्रहरी हस्तक्षेप र पत्रकार पक्राउको चौतर्फी विरोध

काठमाण्डौ - प्रहरीले सञ्चार गृहमा छिरेर पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति विभिन्न राजनीतिक दल तथा सङ्गठनहरूले कडा आपत्ति जनाएका छन् ।

हिजो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीसहित सञ्चारकर्मीहरूलाई पक्राउ गर्नुको साथै सञ्चारगृहमै पसेर धरपकड गरेको घटनाप्रति दलहरू, नागरिक समाज र पत्रकार सम्बद्ध संघ–संस्थाले विरोध गरेका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञप्ति निकालेर समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको उल्लेख गर्नुभएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले, समाचारकै विषयमा कुनै पनि पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि प्रेस स्वतन्त्रतामाथिको राज्य आतंक तत्काल बन्द गर्न माग गरेको छ भने, नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले, प्रधानमन्त्रीको सचिवालयले अनभिज्ञता दाबी गर्नुको सट्टा असंवैधानिक धरपकडमा संलग्न प्रहरी नेतृत्वमाथि छानबिन गरी गृहमन्त्री र प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीहरू माइतिघर मण्डलामा भेला भएर विरोध गरेका छन् । चौतर्फी विरोध र दबाब बढेपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट प्रेस विज्ञ दीपा दाहालले पत्रकार पक्राउबारे प्रधानमन्त्री कार्यालय संलग्न नरहेको र घटनाको जानकारी पाउननसाथ प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिनुभएको उल्लेख गर्नुभएको छ ।

पक्राउ परेका पत्रकारहरू प्रधानमन्त्रीको निर्देशनपछि रिहा भए पनि यस घटनाले राज्यसत्ताको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।  

प्रकाशित मिति:
थप समाज